काठमाडौं – आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारसँग जारी वार्ता भंग गर्ने निर्णय गरेको छ । मोर्चाको वार्तासमितिको सोमबार तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।
हिजो मात्र वार्ता सकारात्मक दिशामा अघि बढेपनि आज एकाएक सरकार दमनमा उत्रिएकाले सरकार वार्ताको पक्षमा नरहेको आरोप मोर्चाका नेताहरुले लगाएका छन् । ‘वार्ताको वातावरण समाप्त’ भएको मोर्चाले जारी गर्न लागेको विज्ञप्तिमा उल्लेख छ । आज वीरगञ्जमा नाका खुलाउने क्रममा भएको झडपमा १ जनाको मृत्यु समेत भइसकेको छ ।
आइतबार मात्र सरकारले विवादीत रहेको सीमाकंन लगायतको विषयमा सरकार पुर्नविचार गर्न तयार रहेको लिखित जानकारी मोर्चालाई गराएपछि वार्ता सकारात्मक दिशा अघि बढेको मोर्चाका नेताहरुले नै बताएका थिए । वार्ताको क्रममा सरकारले सीमाअवरोध र बन्द फिर्ता लिन आग्रह गरे पनि मोर्चाका नेताहरुले माग पूरा नभएसम्म त्यसो गर्न नसकिने जानकारी दिएका थिए ।
तर, आज बिहान एक्कासी प्रहरी बीरगंजमा सीमाअवरोध गरिरहेका आन्दोलनकारीलाई हटाउन पुगेका थिए । जसक्रममा व्यापक बल प्रयोग भएको मोर्चाका नेताहरुले आरोप लगाए । प्रहरीले सीमा खुलाएर २ सयभन्दा बढी भारतीय गाडीलाई सीमा पार गर्न दिएका थिए । त्यसपछि भएको झडपमा एक जनाले ज्यान गुमाएका छन् भने विरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञासमेत जारी गरिएको छ ।
यसबारे ४ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने समितिका नेताले रातोपाटीलाई जानकारी दिए ।
वार्ता समितिमा लक्ष्मणलाल कर्ण, रामनरेशराय यादव, हृदयेश त्रिपाठी र लालबाबु राउत रहेका छन् ।
कर्णको प्रश्नः सरकारले गृहयुद्ध चाहेको हो ?
यसैबीच सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले धर्नामा बसेका प्रदर्शनकारीमाथि प्रहरीले धरपकडको विरोध गरेका छन् ।
उनले सरकारले मधेसमा हिंसा भड्काएर गृह युद्ध चाहेको आरोप समेत लगाए ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारलाई प्रश्न गर्दै भने, ‘सरकारले मधेसमा हिंसा भड्काएर गृह युद्ध चाहेको हो ?, यदी होइन भने हिजो भएको वार्ता सकारात्मक हुँदा हुँदै मधेसीमाथि किन आज फेरि दमन गर्ने काम भयो ?’
उनले मधेस आन्दोलनलाई कमजोर रुपमा नआक्न समेत चेतावनी दिए ।रातोपाटिबाट