इनरुवा भाद्र १२ /सुनसरीका १५ गाविसलाई लक्षित गरी संचालनमा रहेको सामुदायिक विकास कार्यक्रमलाई थप परिस्कृत बनाएर लैजानु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।वेलायत सरकारको सहयोगमा संचालनमा रहेको सामूदायिक विकास कार्यक्रम स्थानीय निकाय संरचनामा नागरिकको प्रत्यक्ष सहभागिता, उत्तरदायित्व र पार्दशिताका साथै सरकारी सेवा प्रवाहको सहजता जस्ता मुद्धामा केन्द्रित छ ।

इनरुवामा आजबाट सुरु सरोकारवालाहरुलाई सुशासन सम्वन्धि तीन दिने अभिमुखिकरण कार्यक्रममा जिल्लामा संचालित योजनाको पार्दशिता, सरकारी सेवामा सर्वसाधारण नागरिकको पहुँच, कार्य सम्पादन प्रकृयामा आइपरेका जटिलता र राजनैतिक दलले खेल्दै आएको भूमिका बारे बहस चलाइएको थियो ।

स्थानीय विकास अधिकारी रामप्रसाद वाग्ले, सामूदायिक विकास कार्यक्रमका निर्देषक दुर्गाप्रसाद खतिवडा लगायत जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा सरोकारवालाहरुको उपस्थिती रहेको कार्यक्रममा उप सचिव विश्वराज डोटेलले सहजिकरण गर्नुभएको थियो ।

सी डिपी कार्यक्रमले पूर्वाधार निर्माणका अलावा विपन्न र सीमान्तकृत महिलाहरुको जीवन उकास्नुका साथै न्यायमा पहुँच कार्यक्रमहरु संचालन गर्दै आएको सुनसरी कार्यक्रम संयोजक सरस्वती कोइरालाले बताइन् । सुनसरीमा सामुदायिक विकास कार्यक्रमको अनुमानित बजेट ५ करोडको हाराहारीमा रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया