भाद्र १६ दुहवी/जिर्ण सडक मर्मतमा सरोकारवालाको ध्यान नपुगेको भन्दै सुनसरीको दुहवीमा स्थानीयले विरोध जनाएका छन् । बिराटनगर भएर पूर्व पश्चिमका लागि छुट्ने सवारीको चापसँगै जिर्ण सडकले दुर्घटना बढाउँदा समेत सरोकारवालाले चासो नदिएको स्थानीयको आरोप छ ।


दुई महिना भन्दा बढी समय बितिसक्दा समेत सडक डिभिजन कार्यालयले मर्मतका लागि चासो नदिएको र नगरपालिका र स्थानीय प्रशासनले समेत वेवास्ता गरेकाले दवावका लागि आन्दोलनमा उत्रिनु परेको स्थानीयहरु बताउँछन् । स्थानीयवासी शकिम हुसेन समस्याको समाधान तत्काल नभए थप आन्दोलन चर्काउन बाध्यहुने बताउँछन् ।


दुहवी बजारको मुल सडकको ४,५ स्थानमा खाल्टा परेका छन् । सडकमा पानी जमेकाले सर्वसाधारणलाई आवतजावतमा समेत समस्या परेको छ । सवारी संचालनका क्रममा समेत सावधानी नअपनाइए दुर्घटना निम्तने सम्भावना बढाएको छ ।

स्वयं ट्राफिक प्रहरी पोष्ट दुहवीका इन्चाजए शुन्दर श्याम पोखरेल समेत जिर्ण सडकले ठुलो दुर्घटनाको सम्भावना बढेको बताउनु हुन्छ । समस्याबारे सरोकारवालालाई पटक पटक ताकेता गरेपनि सुनुवाई हुन नसक्दा आफुनै हैरानीमा परेको पोखरेलको भनाई छ ।पटक पटक जानकारी गराउँदा समेत वेवास्ता गरिएपछि संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका स्थानीयहरुले २४ घण्टा भित्र जिर्ण सडक मर्मत नगरिए चक्काजाम जस्ता दवाव मुलक कार्यक्रम संचालन गर्ने चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया