इलाम, १८ असोज । एचआइभी सङ्क्रमितहरु समाजमा आफ्नो गोपनीयता खुल्ने डर र लोकलाजका कारण जिल्ला बाहिर गएर औषधि सेवन गर्ने गरेको पाइएको छ ।जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा निःशुल्क औषधि उपलब्ध गराउन थालिए पनि लाज र गोपनीयता खुल्ने डरले औषधि र उपचारका लागि झापाको मेची अञ्चल अस्पताल र भारतसम्म पुग्ने गरेको पाइएको छ ।कतिपयले भारतबाट समेत औषधि किनेर ल्याएर प्रयोग गर्ने गरेका छन् । जिल्ला अस्पतालमा एचआइभी पीडितलाई औषधि उपलब्ध गराउन, परीक्षण र परामर्श सेवा दिनका लागि चार महिनाअघि एन्ट्रिरेट्रोभाइरल थेरापी सेन्टर (एआरटी सेन्टर) स्थापना गरिएको छ । सेन्टर स्थापना भएको लामो समय बित्दासमेत सेन्टरमा कोही सेवाग्राही नआएको अस्पतालले जनाएको छ ।“रोग पहिचान भएकाहरूलाई थप स्वास्थ्य परीक्षण गरेर मात्र औषधि दिनुपर्छ” – सेन्टरका परामर्शकर्ता चन्द्र सुब्बाले भन्नुभयो –“लाज र समाजमा थाहा हुन्छ भन्ने डरले कोही पनि आएका छैनन्, यहाँका सङ्क्रमितहरू झापा र भारतसम्म पुगेर औषधि लिन्छन् ।”इलामसहित पाँचथर र ताप्लेजुङ जिल्लाका सेवाग्राहीलाई समेत लक्षित गरेर एआरटी सेन्टर स्थापना गरिए पनि एचआइभी सङ्क्रमितहरू नआउने गरेको बताइएको छ ।इलामलगायत विभिन्न ठाउँबाट आएका २५÷३० जनाले मेची अञ्चल अस्पताल झापा र भारतसम्म पुगेर एचआइभीविरूद्धको औषधि सेवन गरिरहेका छन् ।यसअघि जिल्ला स्वास्थ्य कार्यालयको सम्पर्कमा नौजना मात्रै एचआइभी सङ्क्रमित थिए । सरकारले निःशुल्क रूपमा औषधिलगायतका अन्य परामर्श सेवा दिन एआरटी सेन्टर स्थापना गरे पनि विविध कारणले सेवाग्राही नआएका हुन् ।जनचेतना अभावका कारण सङ्क्रमितलाई अझै पनि समाजमा फरक दृष्टिले हेरिने गरेकाले उनीहरू कसैले थाहा नपाउन् भनेर बाहिरी जिल्लामा गएर औषधि सेवन गर्दै आएका छन् ।

साभार: पुर्बेलि न्युज

तपाईको प्रतिक्रिया