indian embassy

काठमाडौं , १८ कात्तिक । काठमाडौंस्थित भारतीय दूतावासले विनाविभागीय मन्त्री सत्यनारायण मण्डललाई सम्बोधन गर्दै भारतविरोधी अभिव्यक्ति नदिन चेतावनी दिएको छ । मन्त्री मण्डलले सोमबार विराटनगरमा प्रेस चौतारीद्वारा आयोजित कार्यक्रममा भारतले नेपालमा औपनिवेशिक शैलीको हस्तक्षेप गरेको र विनाबर्दीका सैनिक पठाउन लागेको अभिव्यक्ति दिएका थिए ।

त्यसबारे मंगलबार भारतीय दूतावासले वक्तव्य जारी गरी मन्त्री मण्डलको अभिव्यक्तिको भत्र्सना गरेको छ । ‘दूतावास यस्ता धारणाको जोडदार भत्र्सना गर्छ, साथै सम्पूर्ण जिम्मेवार व्यक्तिलाई नेपाल र भारतबीचको वर्षाैं पुरानो सम्बन्धमा खलल पार्ने कुनै पनि काम नगर्न तथा अभिव्यक्ति नदिन अनुरोध गर्छ,’ मण्डललाई लक्षित गर्दै दूतावासको विज्ञप्तिमा उल्लेख छ । दूतावासले मण्डलबाहेक अरू क–कसलाई सम्बोधन गर्न खोजेको हो, विज्ञप्ति स्पष्ट छैन । मण्डल एमाले स्थायी कमिटी सदस्यसमेत हुन् । भारतीय दूतावासले मन्त्री मण्डलको टिप्पणी गर्ने ‘नियत’का विषयमा समेत टिप्पणी गरेको छ ।

‘उक्त धारणाहरू उत्तेजनात्मक, आधारहीन र कुत्सित नियतले सिर्जित छन् । नेपाल सरकारको मन्त्रीजस्तो जिम्मेवार पदमा आसीन व्यक्तिबाट आएका यस्ता धारणाले परिस्थितिलाई अझ बढी व्याकुल पार्नुको साथै नेपाल र भारतबीच रहेको हार्दिक सम्बन्धलाई समेत नराम्ररी प्रभावित गर्न सक्छ,’ दूतावासले भनेको छ, ‘भारत नेपाली जनताको शान्ति, स्थायित्व र समृद्धि चाहन्छ । यी उद्देश्य प्राप्त गर्ने नेपाल सरकार र नेपाली जनताको प्रयासमा भारतले निरन्तर सहयोग प्रदान गर्दै आएको र गर्दै जानेछ ।’

मन्त्री मण्डलले भने आफूले भन्दै नभनेका विषयमाथि दूतावासले टिप्पणी गरेको र सञ्चारमाध्यमले पनि तोडमोड गरी समाचार प्रकाशन गरेको प्रतिक्रिया दिएका छन् । उनले भारतीय नाकाबन्दीको विरोध आफूले गरेको, तर उसले बर्दीविनाका सेना पठाउने भन्ने विषय कहीँकतै किटान नगरेको पनि दाबी गरे । उनले सार्वभौम मुलुकको मन्त्रीमाथि भारतीय दूतावासले गरेको टिप्पणीमाथि पार्टी (एमाले) मा छलफल गरेपछि उचित टिप्पणी गर्ने पनि बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया