Punrabedan Adalat२५ भदौ, दिलिप साह सप्तरी । अव्यवस्थित फोहोर एवम् छाडा सुंगुर नियन्त्रणको सम्बन्धमा पुनरावेदन अदालत राजविराजले राजविराज नगरपालिकालाई अन्तरिम आदेश जारी गरेको छ ।

पुनरावेदन अदालतका माननीय निमित्त मुख्य न्यायाधीश कुमार चुडालत तथा न्यायाधीश उमेशकुमार सिंहको संयुक्त इजलासले सो आदेश गरेको हो ।अधिवक्ता कौशल किशोर दत्तले फोहर र छाडा सुगुरको कारण राजविराज नगरपालिकामा जापानिज इन्सेफ्लाइटिस रोगले बालकको मृत्यु भएको अवस्था देखाउँदै दिएको निवेदन उपर अदालतले शुक्रबार सो आदेश गरेको हो ।

अन्तरिम आदेशमा राजविराज नगरपालिकाको रुपनी रोड, बसपार्क, राजदेवी मोड चौक, कचहरी रोडको जिल्ला प्रशासन कार्यालयदेखि सिराहा रोड र सो रोडमा पर्ने मासु बजार अगाडि, हाट बजार एवम् लोहार गल्ली चोक, नेता चोक, हस्पिटल दक्षिण कुनौली रोड र हनुमाननगर रोडको संगम एवम् अन्य सम्वेदनशील स्थलमा विहान र बेलुका समय निर्धारण गरी फोहोर उठाउने कन्टेनर÷टेलर वा अन्य साधनको व्यवस्था गरी फोहोर उठाउने व्यवस्था एवम् जनचेतनामूलक कार्य गर्नु गराउन नगरपालिकालाई आदेश गरेको छ ।

आदेशमा सुंगुरबाट इन्सेफलाइटिस रोगको संक्रमण हुने भएकोले र यसले महामारी समेत ल्याउन सक्ने हुँदा छाडा सुंगुर एवम् गाईवस्तुहरु निश्चित तोकिएको क्षेत्र, घर वा काञ्जिहाउसमा राखी नियन्त्रणमा लिई सचेत गराउनु एवं आवश्यकता अनुसार सम्बन्धित धनीलाई प्रचलित कानून बमोजिम दण्ड दिने प्रक्रिया अवलम्वन गर्नु गराउन भनिएको छ ।

त्यस्तै राजविराज नगरपालिका एक्लै निकायले उक्त कार्य गर्न नसक्ने भएको र शान्ति सुरक्षा समेतको आवश्यकता पर्ने भएको हुँदा ती कार्य सम्पादन गर्न नगरपालिकासंग समन्वय गरी आवश्यक प्रहरी एवं सुरक्षाकर्मी तोकिएका स्थानमा परिचालन गर्न गराउन जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिने आदेशमा उल्लेख छ ।

फोहोर व्यवस्थापनका लागि हाट बजार उपभोग गर्ने पसलवाला एवं व्यापारीलाई जनचेतना अभिवृद्धि एवं वारम्वार अव्यवस्थित फोहोर गरेमा दण्ड समेत हुने बारे जानकारी गर्न गराउन र फोहोर व्यवस्थापनमा आवश्यक सहयोग गर्न वजार व्यवस्थापन समितिलाई लेखी पठाउने भन्दै आदेशमा अस्पतालबाट निस्कने फोहोर विशेष प्रकृतिको हुने भएको र सोको व्यवस्थापन समेत विशेष रुपमा हुनु पर्ने भएकोले गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल व्यवस्थापन समिति एवं जिल्ला जनस्वास्थ्य कार्यालयसंग सो अस्पताल एवं अन्य अस्पताल÷क्लिनिकहरुबाट निस्तृत हुने फोहोर एवं फोहोर व्यवस्थापनमा अपनाएको व्यवस्थापन वारे अदालतलाई जानकारी गराउन भनिएको छ ।

उक्त विषय सार्वजनिक हक सरोकारको भएको र मुद्दामा उठाइएको विषय जनस्वास्थ्यसंग प्रत्यक्ष सम्बन्ध भएकोले वहस पैरवीका लागि एमीकस क्यूरीका रुपमा दुई जना कानून व्यवसायीलाई नियुक्त गरी पठाउन पुनरावेदन वार एशोसिएसन, राजविराजलाई भनिएको छ ।

तपाईको प्रतिक्रिया