सफा राखौं, स्वच्छ रहौं ः राजविराज नगरको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सरसफाइमा जुटेका युवाहरुसँगै मेसु दिलिप साहले फोहर सफा गर्दै ।
 

२५ भदौ, दिलिप साह सप्तरी ।  राजविराज नगर भित्र स्वास्थ्य क्षेत्रलाई पूर्ण सफा राख्ने उद्देश्यले यहाँका युवाहरुले शनिबार गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सरसफाइ गरेको छ ।सप्तरीको स्वास्थ्योउपचारको मुख्य थलो अञ्चल अस्पताल परिसर भित्रको अव्यवस्थित फोहरले विरामी निको हुनुको साटो झन विरामी हुने अवस्थाको गम्भीरतालाई ध्यान दिएर सरसफाइ गरिएको युवा मोहन यादवले जानकारी दिनुभयो ।

सप्तरीका युवाहरुको एक समूहले राजविराज नगरलाई सफा गर्न थालिएको ५० हप्ते सरसफाइ अभियान अन्तर्गत अस्पतालको सरसफाइ गरिएको हो । अस्पतालमा प्रयोग भएर फालिएको पानीको बोतल, सिरिंञ्च, सुई, औषधीका बट्टा, सीसी, प्याड, आइभी सेट, जस्ता फोहरको उचित व्यवस्थापनको अभावले जत्रतत्र फोहर रहेकोलाई सफा गरिएको छ । यस्तै अस्पतालका स्टाफ कक्ष, वार्ड, कुरुवाका शौचालयहरु पनि भरिएका कारण दुर्गन्धित ती शौचालयहरुको समेत सफा गरिएको अर्को युवा आयुष श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्षालय, नर्स कक्ष, डूेसिङ कक्ष, बाटोघाटो, नाला, पानीको स्रोत ट्युववेलका समेत फोहरलाई सफा गरिएको छ । सरसफाइको क्रममा अस्पताल परिसर भित्रै बहालमा रहेको औषधी पसलका सञ्चालकहरुले पसल भित्रको फोहर सोहरेर डस्टबीनमा नफाली नाला तथा अस्पतालकै पक्की सडकमा फालिने गरिएकोमा सचेत गराएको छ ।

बिहान सिमसिमे पानीमा भिज्दै युवाहरुको जोसजागर अस्पताल परिसर भित्रको सरसफाइमा लगाएकोमा धन्यवाद व्यक्त गर्दै मेडिकल सुपरिटेन्डेन्ट दिलिप साहले फोहर कसैलाई मन पराउने चिज होइन, यस कुरालाई आत्मसात गरी अस्पतालका सबै कर्मचारीले पाएको जिम्मेबारी पूर्ण रुपमा पूरा गर्न सकिएमा यस्तो समस्या अन्त्य हुने बताउनुभयो ।हप्ताको प्रत्येक शनिबार सरसफाइलाई निरन्तरता दिइने अर्का युवा विष्णु यादवले जानकारी दिदै पूर्ण सरसफाइका लागि दिगो बनाउन सम्बन्धीत निकाय, उपभोक्ता, तथा सर्वसाधारणलाई सचेतना अभिबृद्धि गराउँदै जानु पर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया