sunsari-distric-final-e1473820566239

अमर काफ्ले इनरुवा/ लामो रस्साकस्सी पछि सुनसरीको पुर्नसंरचनाको विषय टुङ्गो लागेको छ ।
दलहरुवीच पटक पटकको बैठकले अन्नतः सुनसरी जिल्लाको पुर्नसंरचनाको विषयलाई टुङ्गो लाएको हो ।
मधेशवादी दलहरु विरोध जनाउँदै आएपनि जिविसको पहलमा मंगलवार साँझ अबेरसम्म बसेको बैठक निष्कर्शमा पुगेको हो ।
सुनसरीमा अब १३ वटा स्थानीय निकाय बनाइने छ । बैठकले धरान र इटहरी गरी दुईै उपमहानगर पालिका, इनरुवा, दुहवी र रामधुनी भाषी गरी तीन नगरपालिका र ८ ग्रामपालिका बनाउने दलिय सहमति जुटेको छ ।
इनरुवा नगरपालिका सदरमुकाम नै कायम हुने भएको छ। इनरुवामा मधेशा, बबिया,जल्पापुर, चांदेबेला सहित डुम्राहाका २, ७, ८ र ९ नम्वर वडा गाभिने भएका छन् ।
माओवादी र कांग्रेसको विवादले डुम्राहा र सत्तेरझोरा भने सदरमुकामबाट बाहिरिएका छन् ।
डुम्राहाका बाँकी रहेका वडा रामधुनी भाषीमा समावेश गरिएका छन् ।
सहमति अनुसार १ लाख ३७ हजार ७०५ जनसंख्या रहने गरी धरान उपमहानगर पालिका, १ लाख ४० हजार ५१७ जनसंख्या रहने गरी इटहरी उपमहानगर पालिका, २८ हजार ५४९ जनसंख्या रहेको रामधुनी नगरपालिकामा १३ हजार ९०३ जनसंख्या रहेको बकलौरी गविस र डुम्राहाको १, ६, ३, ४, ५ नम्बर वडा समेटेर रामधुनीभासी नगरपालिका निर्माण गर्ने र त्यसको केन्द्र झुम्कालाई बनाउने सहमति भएको छ । जसको जनसंख्या ५१ हजार ७२२ हुन्छ ।
त्यसैगरी २५ हजार ५४५ जनसंख्या रहेको दुहवी भलुवा नगरपालिकामा ११ हजार ७०७ जनसंख्या रहेको सोनापुर, ५ हजार ८३५ जनसंख्या रहेको तनमुना, ५ हजार ४१७ जनसंख्या रहेको सिमरिया र ७ हजार ७१२ जनसंख्या रहेको पूर्व कुशाहा मिलाएर ५६ हजार २१६ जनसंख्या हुने गरी दुहवी भलुवा नगरपालिका निर्माण हुने छ । जसको केन्द्र दुहवी हुने छ ।
त्यसैगरी औरावनी, मधेली, छिटाहा र सत्तेरझोरालाई मिलाएर गढी ग्राम पालिका निर्माण गर्ने सहमति रहेको छ । जसको जनसंख्या ३४ हजार ८५२ पुग्ने छ भने त्यसको केन्द्र औरावनी हुने छ ।
बर्जुग्राम पालिकाको नामबाट रामगञ्ज बेलगछिया, अमडुवा, अमाहीबेला र चिमडीलाई समेटिएको छ । ३१ हजार १७८ जनसंख्या पुग्ने सो ग्राम पालिकाको केन्द्र अमाहीबेला तय गरिएको छ ।
त्यसरी नै हरिनगरा, बसन्तपुर, घुस्की, रामनगर भुटाहा र गौतमपुरलाई समेटेर हरिनगरा ग्राम पालिका प्रस्ताव गरिएको छ । हरिनगरा नै केन्द्र रहने सो ग्राम पालिकाको जनसंख्या ४० हजार ८४६ पुग्ने छ । भने देवानगंज, कप्तानगंज, राजगञ्ज सिनुवारी, साहेबगञ्ज र मध्यहर्षाहीलाई समेटेर ३५ हजार ७३ जनसंख्या रहने देवानगंज ग्राम पालिका प्रस्ताव गरिएको छ । जसको केन्द्र देवानगञ्ज हुने छ ।
त्यसैगरी ४३ हजार ६ सय २६ जनसंख्या रहने हुनेगरी हरिपुर, श्रीपुर जब्दी, पश्चिम कुशाहा र लौकहीलाई समेटेर कोही ग्राम पालिका प्रस्ताव गरिएको छ । जसको केन्द्र लौकही रहने छ ।
नरसिंह र भोक्राहलाई समेटेर भोक्राहा ग्राम पालिका प्रस्ताव गरिएको छ । जसको. जनसंख्या४० हजार ५०९ पुग्छ । सो ग्राम पालिकाको केन्द्र भोक्राह तय गरिएको छ ।
त्यसैगरी प्रकाशपुर, महेन्द्र नगरपालिका र मधुवनलाई जोडेर प्रकाश नगर वा महेन्द्र नगर ग्राम पालिकाको प्रस्ताव गरिएको छ । चक्रघट्टी केन्द्र रहने सो ग्रामपालिकाको जनसंख्या ४५ हजार४५२ जनसंख्या पुग्ने छ ।
त्यसैगरी बराहक्षेत्र र भरौललाई समेटेर बराहाक्षेत्र ग्रामपालिका प्रस्ताव गरिएको छ । चतराको बयरबन केन्द्र रहने सो ग्राम पालिकाको जनसंख्या ३१ हजार ९६५ पुग्छ । लामो रस्साकस्सी पश्चात जिल्लाको पुर्नसंरचना सहमतिमा पुगेको स्थानीय विकास अधिकारी रामप्रसाद वाग्लेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया