Ranjeet-Ray-Meets-Madhab-Ne

१८ कात्तिक, काठमाडौं । नेपालका लागि भारतीय राजदूत रणजित रायले मधेसी मोर्चाको आन्दोलनमा भारतको समर्थन नरहेको स्पष्ट पारेका छन् ।

पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपाललाई भेटेर राजदूतले भारतले नाकाबन्दी नगरेको र आन्दोलनलाई समर्थन पनि नगरेको बताएका हुन् ।

नेपाल निवास कोटेश्वरमा भएको भेटमा राजदूतले पछिल्लो समय नेपाल-भारत सम्बन्धमा देखिएको समस्या र नेपालमा भारत विरोधी भावना विकास भएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

केही दिन पहिले सरकार तथा आन्दोलनरत पक्षको वार्ता सकारात्मक भएको समाचारसँगै भारत खुसी भएको सन्देश राजदूतले पूर्वप्रधानमन्त्रीलाई दिएको नेपालका स्वकीय सचिव मोहन गौतमले बताए ।

जवाफमा पूर्वप्रधानमन्त्री नेपालले नेपालको आन्तरिक समस्या सकेसम्म सर्वसम्मत र नसके पनि अधिकतम सहमतिका आधारमा समाधान गर्न दलहरु प्रतिवद्ध रहेको राजदूतलाई बताएका थिए ।

नेता नेपालले आपूर्ति समस्याका कारण नेपाली जनताले पाइरहेको कष्टप्रति संवेदनशील हुन राजदूत मार्फत भारत सरकारसँग आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्रीले नेपालमा भारत विरोधी धारणा विकास हुनमा के-कस्ता कुराहरुले प्रभाव पार्‍यो भनी विशेष अध्ययन गर्नुपर्ने र त्यसको आधारमा समाधान खोज्नुपर्ने बताए ।अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया