umesh patrika inaruwa badne1

अमर काफ्ले इनरुवा असोज ८/ उमेश कोइराला हरकोहीका लागि अञ्जान नाम बन्न सक्ला । बिहानीको मिर्मिरेसँगै साइकलमा पत्रिका बोकेर पाठकको घरदैलो पुग्ने उमेश इनरुवाकै एक त्यस्तो व्यक्ति हुन जो लामो सयमदेखि पत्रिका वितरणको कार्यमा सरिक छन् ।

उनको बोली छैन् । जन्मजात बोली गुमाउन पुगेका उनलाई पत्रिका वितरक अर्थात फिटफिटेको नामले नचिन्ने सायदै होलान् । हरेकको दृष्टिकोणमा उमेशको पहिचान बेग्लाबेग्लै भएतापनि इनरुवाको पत्रकारितामा उनले वषौंदेखि योगदान दिँदै आएका छन् । इनरुवाबाट प्रकाशित हुँदै आएका दैनिक हुन या साप्ताहिक पत्रिका लगभग उनले वितरण नगरेका पत्रिकाहरु नहोलान् ।

साइकलको केरियरमा पत्रिका च्यापेर घरदैलोमा पत्रिका बाँड्न निस्कने उमेशको विहानी इनरुवाका गल्ली, टोलका साथै सरकारी कार्यालयहरु चहार्दै बित्छ । हरेक दिनको दैनिकी बनेको पत्रिका वितरणको उनको कार्य विश्वासिलो भएकाले समेत इनरुवा वाहिरबाट प्रकाशन भई इनरुवामा आउने पत्रपत्रिका वितरणका लागि समेत उमेशनै पहिलो रोजाईमा पर्ने गर्छन् ।

स्वभावले हाँसिरहने उमेश आफुलाई असहयोग गर्ने र नराम्रो नजरले हेर्नेप्रति भने निकै कड्किने गर्छन् । मनखाएको व्यक्तिलाई हरसम्भव सहयोग गर्न तत्पर हुने उनि रुचाएको व्यक्तिले अह्राएको हरकुरा मान्न इन्कार गर्दैनन् । बोली नभएनी हाउभाउ शैलीमा प्रस्तुत हुने उमेश ९८१९०२२५२० नम्वरको मोबाइल आफ्नो रहेको भन्दै मोबाइल देखाउँदै चिनजानकालाई उक्त नम्बर दिएर सांकेति रुपमा कल गर्नु भन्दै हाँस्दै हिँडछन् ।

उमेशले फास्ट टाइम्स, औजार, सुनसरी आवाज जस्ता पत्रिका निकै पहिला बाँड्ने गर्थे । हाल उनि इनरुवाबाट प्रकाशित हुने वर्णमाला दैनिकमा कार्यालय सहयोगीका रुपमा कार्यरत रहनुकासाथै पत्रिका वितरणको समेत कार्य गर्दै आएका छन् । उनि ब्लाष्ट टाइम्स, विष्फोटन, पूर्वि बजार जस्ता पत्रिकासमेत वितरण गर्ने गर्छन् ।

तपाईको प्रतिक्रिया