Petrol-line-2

 

१९ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले आज बिहीबारदेखि काठमाडौंमा निजी सवारीलाई पेट्रोल वितरण सुरु गर्दैछ ।

आज १ देखि ३० लटमा दर्ता भएका निजी मोटरसाइकलले पेट्रोल पाउनेछन् भने १ देखि ५ नम्बर लटका निजी जिप र कारलाई पनि इन्धन वितरण गरिँदैछ ।

तोकिएका पेट्रोलपम्पबाट साँढे ३ देखि ४ लाख लिटर पेट्रोल वितरण हुने निगमले जानकारी दिएको छ । लट नम्बरअनुसार अब ३ दिनसम्म निजी सवारीले पेट्रोल पाउनेछन् ।

तेल पाउन लाइनमा निजी सवारी धनीलेसम्वन्धित पम्पबाट कुपन समेत लिनुपर्ने छ । अघिल्लोपटक धेरै उपभोक्ताले लाइनमा बसेर पनि पेट्रोल नपाएको गुनासो आएपछि नेपाल आयल निगमले यसपटक अनिवार्य रुपमा टोकन बाँड्न पम्पहरुलाई निर्देशन दिएको छ ।

लटअनुसार सम्बन्धित पेट्रोलपम्पले बिहान कुपन बाँड्दैछन् । पम्पबाट कुपन नलिएकाहरुले तेल पाउने छैनन् । तेल बाँड्ने समय भने तोकिएको छैन ।

आयल निगमका थानकोट डिपो प्रमुख रविन शर्माले एउटा पम्पमा टोकन नपाए अर्को पम्पमा पुगेर कुपन लिन उपभोक्तालाई आग्ह गरेका छन् । अघिल्लो पटक दसैंका लागि निजी सवारीलाई पेट्रोल वितरण गर्दा झण्डै दुईतिहाइ अर्थात ७५ प्रतिशत सवारी रित्तै फर्किएका थिए ।

दसैंअघि ६ लाख लिटर पेट्रोल वितरण गरिएको थियो । तर झण्डै २० लाख लिटर माग देखिएको थियो ।

निगमले ३० देखि ५० को लटमा दर्ता भएका मोटरसाइकललाई भोलि शुक्रबार र ५० भन्दा माथिका लटका मोटरसाइकललाई पर्सी शनिबार पेट्रोल बाँड्ने छ ।

यस्तै शुक्रबार ६ देखि ८ लटका कारको पालो आउनेछ । ८ भन्दा माथिका लटका कारले भने शनिबर पेट्रोल पाउने निगमले जनाएको छ ।

निगमले कुपन लिएमा देशभर कुनैपनि अञ्चलमा दर्ता भएका सवारीलाई पेट्रोल वितरण गर्ने जानकारी दिएको छ । कारले १५ तथा मोटरसाइकलले ५ लिटर पेट्रोल पाउनेछन् ।अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया