-विनोद परियार
केहि दिन अघि बुटवल आर्दशनगरबाट फोन आयो धनबहादुर दमाईको । दसैं मनाएर भर्खर घरबाट आएको थिएँ म ।
नयाँ नम्बर रहेछ । मैलै चिनिन । उहाँले परिचय दिदै भन्नुभयो –‘हामी त बर्बाद भयौं, दुई महिनादेखि ग्याँस पाइएको छैन्, लेबर काम गरेर खाने हो, भूकम्प गएदेखि काम पनि ठप्प छ, आलु, प्याज,चामलको भाउ छोइसक्नु भएन, बाँच्नै नसक्ने भइयो, हामी गरिबको पनि समाचार लेखिदिनुस् न ।’binod kumar pariyar

उहाँले एकोहोरो रुपमा आफ्नो समस्या बताउँदै हुनुहुन्थ्यो । सायद पत्रकारलाई सुनाएँमा केही राहात पो मिल्छ की ? अथवा राज्यले सुन्छ की भनेर होला । उहाँले निकै भावुक हुँदै फोनमा भन्नुभयो । मैले फोनमा उहाँ (धनबहादुर) को समस्या सुनिराखेँ ।

मैलै ठिक छ तपाईको जस्तै धेरैको समस्या छ, हामीले बिषय उठाएकै छौं, न आत्तिनुस् समाधान हुने कुरा छ मैलै यति मात्रै भने ।

यो फोन आएको केहि छिनमा एक जना साथीको ग्याँस सकियो । लौन पत्रकारको त चल्छ, ग्याँस उपलब्ध गराइदिनुपर्यो ?अर्को भन्छ पेट्रोल छैन, पत्रकारलाई तेल जहाँ पनि दिन्छ रे, भनिदिनुपर्यो ?यी र यस्तै यस्तै पिडा र आग्रह सुन्दै आइरहेको छु म । यस्तो अवस्था मैलै मात्रै होईन अधिकांश पत्रकार साथीहरुले भोग्नुभएको होला । केही मेरा साथीको समस्या र पेट्रोल पाइएन भन्ने बिषयले भन्दा पनि धनबहादुर दमाईको बिषय मैलै निकै सम्झिरहेको थिएँ ।

समाचार लेखुँ की के गरु भन्ने सोच्दै थिएँ । धेरै पटक साथीहरुले पत्रिका, रेडियो र टेलिभिजन अनि अनलाईनमा यी बिषय उठाइसकेका हुन । त्यसैले लेखको रुपमा धनबहादुर र उहाँजस्तै तपाई हामी र देशको अवस्थाबारे मनको बह पोख्ने कोसिस गरेको हुँ ।
मैलै धनबहादुर दमाईलाई कल ब्याक गरेँ । उहाँको बारेमा सोधे । ६२ बर्षिय दमाई बुटवलमा दैनिक मजदुरी गरि घरखर्च चलाउनुहुदो रहेछ । दुई छोरा र श्रीमतीका साथमा बुटवल आदर्शनगरमा बस्ने दमाई भन्दै हुनुहुन्थ्यो –‘दुई महिना भयो, ग्याँस नपाएको, जेनतेन दाउरामा पकाएर छाक टारेका छौं, भूकम्प गएदेखि घर निर्माणको काम पनि पाइएको छैन् । अब त के गर्ने कसो गर्ने निकै अप्ठ्यरोमा छु’ उहाँले सुनाउनुभयो । उहाँ भन्दै हुनुहुन्थ्यो–‘पैसावाला र धनाढ्यहरुले दोब्बर, तेब्बर तिरेर पनि ग्याँस किनेका छन्,सामान पाएका छन् हामी गरिबले न धेरै पैसा दिन सक्छौं, नत सरकारले नै हेर्छ, संविधान त आयो, गरिबलाई केही आएन ।’

हो, अहिले ठ्याक्कै भएकै त्यहि हो । मैलै किन धनबहादुरलाई जोड्दै छु भने धेरैजसो नेपालीहरुको पिडा धनबहादुरकै कथा वरिपरि छ । अहिले धनाढ्य परिवारले ग्याँसको विकल्पमा विद्युतबाट खाना पकाउने राइस कुक्कर किन्न सक्छ । दाउरा पनि किन्न सक्ला ?हुँदै नभए, सोर्स फोर्स लगाएर भएपनि जोहो गर्ला, त्यो नभए जति भन्छ त्यति पैसा तिरेर पनि ग्याँस ल्याउन सक्छ । तर, धनबहादुरहरुले यसो गर्न सक्दैनन् । पसल सञ्चालकले भएको ग्याँस पनि दिदैन । किनकि ऊ पसलेको नातेदार होईन् । पहुँचवाला मान्छे पनि होईन । अनि उससँग शक्ति पनि छैन ।
हो, बास्तवमा भन्ने हो भने असोज ३ गते संविधान घोषणा भएदेखि गरिब, मजदुर र किसान वर्गहरु निकै मारमा छन् । तराईमा संविधान घोषणा हुनुअघि देखिकै बन्द हड्ताल भएको थियो । त्यसैबेला देखि दैनिक उपभोग्य बस्तुको अभाव भएको हो । असोज ३ मा संविधान घोषणा भयो ?त्यसयता मधेशीहरु मात्रै होईन भारतले नै अघोषित रुपमा नाकाबन्दी गरेपछि नेपाल हायलकायल भएको छ ।
अझै पनि मधेशमा आन्दोलन चलिरहेकै छ । भारतको नाकाबन्दी पनि जारी नै छ ।

मुख्य दलहरु जनता कस्तो अवस्थामा कसरी बाँचेका छन भन्ने कुराको कुनै हेक्कानै छैन । मुलुकले नयाँ प्रधानमन्त्रि, नयाँ राष्ट्रपती र उपराष्ट्रपती अनि सभामुख पाइसक्यो । अब त कम्तीमा जनताको समस्या सुन्न तिर दलहरु लाग्नुपर्यो ?
तराईमा चलिरहेको आन्दोलनले ३ महिना पूरा गर्दै छ । यति लामो आन्दोलन सायद नेपालकै इतिहासमा भएन होला । तराईकै आन्दोलनले गर्दा नेपालमा दैनिक उपभोग्य बस्तुको अभावले जनजीवन अस्तब्यस्त बनाएको हो । अब पनि समस्या समाधान नगर्ने हो भने नयाँ सरकारको औचित्य सकिने छ । सरकारले तराईका माग जायज छन भने पूरा गर्नुपर्यो होईन भने आन्दोलनको नाममा जनताले दुःख पाउनुभएन । यसको जिम्मेवार सरकार नै हुनुपर्छ ।

वार्ताका नाममा अल्झाइरहने अनि जनताले ग्याँसका लागि दुई – तीन दिन सम्म लाईनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुनैपर्छ । यसको लागि जसरी भारतले नेपालमाथि नाकाबन्दी गरेर विश्वव्यापी मान्यताको उल्लघन गरेको छ, यसको विरुद्ध पनि आवाज उठाउन जरुरी छ ।
अभावको विकल्प खोई ?
अभावमा नेपालीहरुले दसैं पर्व सकाए । तेल अभावको नाममा तेब्बर र चौरलसम्म भाडा असुले यातायात व्यवसायीहरुले । बजारमा हुनेखानेहरुले सबै सामान स्टक गरेर राखेका छन् । दैनिक ज्यालादारीमा काम गरि गुजारा चलाउनेहरु निकै समस्यामा छन् । अहिले नेताहरुले भारतले नाकाबन्दी गरेर ठिक्कै गर्यो राष्ट्रियताको भावना त जाग्यो भन्छन ? आत्मनिर्भर बनाउने सोच त आयो ? चित्त बुझाउने तर्क मात्रै हो यो । किनकि व्यवहारमा हामी आत्मनिर्भर उन्मुख तर्फ पनि गएका छैनौं । हिडेरै पुगिने ठाउँका लागि पनि हामीले भारतबाट कालोबजारीयाहरुसँग तेल किनेर घरको ड्रममा राखेका छौं । तेलकै लागि साँझपख भारतको सुनौली वा अन्य कुनै भारतको पेट्रोलपम्पमा गएर गाडी लाईनमा राख्छौं । यस्तो पारा छ हामीमा । अनि कसरी आत्मनिर्भर हुने ? अनि भारतले नाकाबन्दी गरेर ठिक्कै गर्यो किन भन्छौं । बरु भारतसँग लड्ने साहसका लागि स्वदेशी उत्पादन प्रयोग गर्नेकी ? अथवा भारतले जुन व्यवहार गरिराखेको छ उसका विरुद्ध अन्तराष्ट्रिय स्तरमै बोल्ने किन हिच्किच्याउने । चीनबाट तेल ल्याउने कुरा पनि गफमै सिमित भएको छ । विकल्पको नाममा हरेक चीजको मार जनतामाथि नै थुप्रिएको छ । इन्धन ब्ल्याकमा किनेर गाडी त चलेको छ तर त्यसको भार उही जनताले थेगिरहेका छन् । नेपालका उद्योगधन्दा पूरै बन्द छन् । कच्चा पदार्थ नभएपछि काम नै भएको छैन । त्यसको वास्तविकता बुझ्दै जादा निकै विकराद देखिन्छ । अब यस्तो पाराले भएन । पेट्रोलियम पदार्थमा डिजेल र पेट्रोलको मात्रै कुरा गरेका छौं । साना गरिब परिवारका लागि मट्टीतेल पनि निकै आवश्यक छ । यसको समेत अभाव छ, यता तर्फ पनि ध्यान दिन जरुरी छ ।
र अन्त्यमा धनबहादुर जस्तै भएकाहरुको पिडा दिनप्रतिदिन कष्टकर हुँदै छ भने नभएकाहरुले पनि अबको एक साता वा एक महिनासम्ममा धनबहादुरकै हालतमा पुग्ने छन् ।

यसैले अब चाँहि तराईको समस्या समाधान गर्न सरकार लागोस् अनि आफ्नै देशका दाजुभाई दिदि वहिनीलाई दुःख दिएर विदेशीलाई सघाउने गरि मधेशमा आन्दोलन नगरौं । यहि हो आम नागरिकको आग्रह ।नागरिकआवाजबाट

तपाईको प्रतिक्रिया