दिलिप कुमार साह
राजविराज, ११ असोज । लामो समयदेखि राजविराज नगरपालिका कार्यालयमा कर्मचारी सरह काम गरेर विश्वस्त पारेका विचोलियाको काम गर्ने एक जना घुस सहित पक्राउ परेका छन । सेवाग्राहीबाट घुस लिने क्रममा राजविराज नगरपालिका वडा नम्वर–७ निवासी २८ वर्षिय प्रकाश चौधरी पक्राउ परेको प्रहरी उपरिक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँ नगरपालिकाकै पञ्जिकाधिकारी पदमा कार्यरत लोकेन्द्र चौधरीका भाइ हुन्
पक्राउ परेका चौधरी महिनौदेखि दाजुकै कुर्सीमा बसेर जन्म, मृत्यु दर्तालगायतका काम गर्दै आएका छन् । सोमवार नगरपालिका कार्यालयमा सेवा लिन आएका सेवाग्राहीसँग एक हजार तीन सय घुस लिएको आरोपमा चौधरीलाई जिल्ला प्रहरीको टोलीले आवश्यक अनुसन्धानकालागि नियन्त्रणमा लिएका हुन् । नगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङ्गकै सामुन्नेमा सेवाग्राहीबाट घुस लिएका छन् । पक्राउ परेका चौधरी नगरपालिकाका कर्मचारी नभएपनि सेवाग्राहीसँग घुस लिनैकालागि नगरपालिकाले प्रयोग गरेको श्रोतले जनाएको छ । नगरपालिकाका कार्यकारी अधिकृत गुरुङ्गले कर्मचारी नै नभएका ब्यक्तिलाई यसरी दिनहुँ कार्यालयमा आएर कर्मचारीकै कुर्सीमै बसेर काम गर्दा पनि कहिल्यै नरोकेको अन्य कर्मचारीको भनाई छ ।
यता यस बारे आफुलाई केही थाहा नभएको भनेर पन्छिदै राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङले भन्नुभयो, मलाई केही थाहा छैन ।
प्रहरीले उहाँमाथि केहि दिन अघिदेखि नै निगरानी वढाएको थियो । बिचौलियाको प्रयोग गरी यसरी सेवाग्राहीसँग घुस लिने ब्यक्ति तथा अनाधिकृत रुपमा प्रयोग गर्ने कर्मचारीमाथि आवश्यक अनुसन्धान गरी कानुन बमोजिम कारवाही गरिने सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले वताउनुभयो ।

तपाईको प्रतिक्रिया