Chhinamasta

१५ असोज, दिलिप साह राजविराज। बडादशैंको पहिलो दिन शनिवार सप्तरीका विभिन्न मन्दिर तथा शक्तिपीठहरुमा श्रद्धालु भक्तजनहरुले पुजाआजा गरेका छन् । पुर्वाञ्चलकै प्रशिद्ध शक्तिपिठ छिन्नमस्ता मन्दिरमा पुजा आजाका लागि नेपाल तथा भारतका भक्तजनहरुको दिनभरीनै घुईचो लागेको छ ।

यस पटकको दशैंमा घटस्थापना अगाडि देखि नै भक्तजनहरु उल्लेख्य संख्यामा आएको जानकारी दिदै मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष रामनारायण यादवले दशैंभरीमा ५० लाख जति भक्तजनहरुले मन्दिरमा आएर दर्शन गर्ने अनुमान रहेको वताउनुभयो ।उहाले दशैंका लागि मन्दिर परिसर सरसफाइ, रंगरोगन, शौचालय निर्माण, पिउने पानीको ब्यवस्था लगायतका कामहरु सम्पन्न भएको वताउँदै यस पटक मन्दिरसम्म पुग्नका लागि सडकको जिर्णोद्धार समेत भएकोले भक्तजनहरुको संख्यामा वृद्धि भईरहेको दावी गर्नुभयो ।

मन्दिरका पीठाधिस महाकान्त ठाकुरले वाहिरवाट आएका भक्तजनहरुको लागि वसोवासको समेत ब्यवस्था मिलाईएको जानकारी दिदै सुरक्षा प्रवन्धमा पनि कुनै कसर वाँकी नरहेको वताउनुभयो ।यसैगरी भारदह स्थित कंकालनी मन्दिरमा समेत वाहिरका श्रद्धालु भक्तजनहरु उल्लेख्य संख्यामा आउन थालेको मन्दिरका पुजारी चन्द्रकान्त भारतीले जानकारी दिनुभयो ।

महानवमीका दिन राँगाको वलि दिइने परम्परा रहेको मन्दिरमा यस पटक एक हजार भन्दा वढि राँगाको वलि दिईने मन्दिर ब्यवस्थापन समितिका सचिव लक्ष्मण मण्डलको अनुमान रहेको छ ।राजविराज ९ स्थित राजदेवि मन्दिरमा पनि शनिवारदेखि दर्शनका लागि पुगेका भक्तजनहरुको संख्या वढेको मन्दिरका पुजारी भोला चौधरीले जानकारी दिएका छन् ।

उहाका अनुसार मन्दिरभित्र असारदेखि रसाएर जम्मा भएको पानी दशैं सुरु भएपछि ढोल (दशैंमा वजाईने वाजा) वजाउन शुरु भए लगत्तै पानी पनि क्रमशः घटदै जाने गरेको छ । जिल्लाको शम्भुनाथ नगरपालिका स्थित शम्भुनाथ मन्दिर, राजविराज १ स्थित भगवती मन्दिरमा पनि विहानैदेखि भक्तजनहरु उल्लेख्य संख्यामा आएर पुजाआजा गरेका छन् ।

यसवर्ष दशैंलाई मध्य नजर गरी सप्तरी प्रहरीले विशेष सुरक्षा योजना सार्वजनिक गरिसकेको छ । एसपी भिमप्रसाद ढकालका अनुसार छिन्नमस्ता (सखडा) मन्दिरमा बिशेष गरि घटस्थापना, पञ्चमी र सप्तमीका दिन वढि भिड लाग्ने भएकाले ति दिनमा कुल १२५ जनाको प्रहरी टोली परिचालन गरिनेछ । यस्तै कंकालनी मन्दिरमा घटस्थापना र नवदुर्गा पुजाका दिनमा ७५ जनाको प्रहरी टोली तथा राजविराज स्थित भगवति मन्दिरमा ३५ र राजदेबी मन्दिरमा ३५ जनाको टोली परिचालन गरीने एसपी ढकालले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया