काठमाडौं । सरकारले दसैंअघि नै दर्ता गर्ने भनिएको संविधान संशोधन प्रस्ताव तत्काल अघि नबढ्ने भएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले उठाएको माग सम्बोधन गर्नेबारे सत्तारुढ कांग्रेस र माओवादी केन्द्रबीच साझा धारणा बनाउन अझै कठिन देखिएको भन्दै प्रधानमन्त्री निकट उच्च स्रोतले दसैंअघि प्रस्ताव दर्ता हुने सम्भावना टरेको जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार मधेशी मोर्चाका नेतासँग भेट्दै दसैंअघि संविधान संशोधन प्रस्ताव दर्ता गर्ने आश्वासन दिए । ‘मुख्य कुरा सीमांकनमै हाम्रो आन्तरिक छलफल मिलेको छैन, नवलपरासीदेखि बर्दियासम्म सीमांकन गर्नेबारे त कांग्रेससँग मोटामोटी कुरा मिलेकै हो ।,’ प्रधानमन्त्री निकट एक नेताले भने, ‘तर पूर्वका तीन जिल्ला र पश्चिमका दुई जिल्लालाई विवादित क्षेत्र घोषणा गरी पुनःसंरचना आयोगलाइ जिम्मा दिनेबारे शेरबहादुर देउवाजी सकारात्मक देखिनुभएको छैन । सीमांकनका विषय सम्बोधन नगरी संविधान संशोधन प्रस्ताव जान सक्ने अवस्था तत्काल छैन ।’ आजको कान्तिपुरमा खबर छ ।

तपाईको प्रतिक्रिया