काठमाडौं, १ कात्तिक । सर्वोच्च अदालतले लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी फैसलाको पुनरावलोकन गर्ने आदेश दिएको एक महिना बित्दा पनि ‘ठेगाना पत्ता लगाउन नसकेको’ भन्दै सर्वोच्च प्रशासनले विपक्षी कार्कीको नाममा म्याद तामेल गर्न सकेको छैन ।

म्याद बुझ्न ढिलाइ गर्ने रणनीतिका साथ मुलुकको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कार्कीले विदेश भ्रमणकै दौरानमा थप बिदा स्वीकृत गराइसकेका छन् । ‘सकेसम्म तिहारअघि कुनै पनि हालतमा म्याद तामेल हुन नदिने रणनीति बनेको छ,’ सर्वोच्च स्रोतले भन्यो, ‘तामेलदार, महानगरपालिकाको वडा सचिवलाई अल्मल्याएर म्याद तामेलीमा ढिलाइ गर्ने योजना चलिरहेको छ ।’

घटस्थापनापछि सर्वोच्च अदालतले घरमै म्याद बुझाउन दुई पटक तामेलदार खटाएको थियो । गत १९ गते काठमाडौं महानगरपालिकाको १० नम्बर वडा सचिवको अनुपस्थितिका कारण म्याद तामेल हुन सकेन भने भोलिपल्ट तामेलदार नै सम्पर्कविहीन भए । त्यसपछि भने दसैं बिदा सुरु भएकाले म्याद तामेल हुन सकेन । नियमित रूपमा अदालत खुले पनि आइतबारसम्म म्याद तामेल भएको छैन ।

सर्वोच्च अदालत स्रोतका अनुसार म्याद तामेल नगरेको भन्दै तामेल्दार शम्भु खत्रीमाथि विभागीय कारबाहीको तयारी भइरहेको छ । सर्वोच्च प्रशासनले सोमबारै फेरि कार्कीको घरमा म्याद तामेलीका लागि टोली खटाउने भएको छ । ‘सम्भव भए विपक्षीका हातमा म्याद थमाइनेछ, नभए परिवारका सदस्यले म्याद बुझ्नुपर्ने छ,’ सर्वोच्च स्रोतले भन्यो, ‘सम्भव नभए घरमै म्याद टाँस्न लगाउने तयारी छ ।’

चार दिने कार्यक्रमका लागि दुई साता लामो भ्रमणमा निस्किएका अख्तियार प्रमुख लोकमानसिंह कार्कीले विदेशबाट थप १० दिनको बिदा राष्ट्रपतिबाट स्वीकृत गराएका छन् ।

तिहारअघिसम्म म्याद नबुझ्ने र मुद्दाको पुनरावलोकनका लागि ढिलाइ गर्ने रणनीतिसहित उनी लामो बिदामा रहेको अख्तियारस्रोतले बतायो ।यो दाबीलाई अख्तियारका सल्लाहकार रहिसकेका कार्कीका निकट कानुनी व्यवसायी कोमल घिमिरेले पनि पुष्टि गरेका छन् । ‘दसैं बिदामा अदालत बन्द भएका बेला देशमै नभएको व्यक्तिलाई म्याद टाँस्न अदालत खोल्नुको मनसाय के रहेछ ?’ घिमिरेले टिवटमार्फत भनेका छन्, ‘स्वतन्त्र न्यायपालिका यही रहेछ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया