Sitaram-yachuri

२० कात्तिक, काठमाडौं / नेपालप्रति लिएको नीतिलाई लिएर भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको कडा आलोचना गरेको छ । मोदी सरकारले नेपालप्रति हेपाहा नीति लिएको उसले बताएको छ ।

कम्युनिष्ट पार्टीले आफ्नो मुखपत्र ‘पिपुल्स डेमोक्रेसी’मा सम्पादकीय नै लेखेर मोदी र बीजेपीले बिहारको चुनावलाई हेरेर नेपालका मधेसी दलहरुलाई सहयोग गरेको बताएको छ ।उसले लेखेको छ, ‘नरेन्द्र मोदी र बीजेपीले बिहारको चुनावलाई हेरेर नेपालसँगको सुमधुर सम्बन्ध बिगार्ने गरी मधेसीलाई समर्थन गरेका छन्, जो बिहारको सीमा क्षेत्रमा छन् ।’

‘नेपाललाई चीनतिर जान बाध्य पारिएको छ र चीनबाट एक हजार मेटि्रक टन पेट्रोल ल्याउन सम्झौता भएको छ, भारतको नाकाबन्दीविरुद्ध असन्तुष्टि जनाउन नेपालका परराष्ट्रमन्त्री संयुक्त राष्ट्रसंघ गएका छन् । सार्कका अधिकांश देशले नेपाली जनतामाथि लादिएको नाकाबन्दीबारे चासो व्यक्त गरेका छन्’ सम्पादकीयमा भनिएको छ ।भारतीय कम्युनिष्ट पार्टी सन् २००४ को चुनावपछि कांग्रेस आईसँगको गठवन्धन सरकारमा सामेल थियो । सो पार्टीका महासचिव प्रकाश करात र नेता सीताराम यचुरी लगायतका नेताले नेपालको शान्ति प्रकृयामा सहजीकरणको भूमिका खेलेका थिए ।

भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका महासचिव एवं पिपुल्स डेमोक्रेसीका सम्पादक सीताराम येचुरी नेपालमा लोकप्रिय छन् । नेपालको माओवादीलाई राजनीतिको मुलधारमा ल्याउन उनले पनि भूमिका खेलेका थिए । पिपुल्स डेमोक्रेसीले केही परराष्ट्रविदहरुसँग पनि कुराकानी गरेको छ, जसले भारतका कारण नेपाल चीनतर्फ ढल्किएको भन्दै चिन्ता जनाएका छन् । पछिल्लो दिनमा भारतीय नागरिक समाजले मोदी सरकारको गलत विदेश नीतिका कारण नेपालमा भारतविरुद्ध जनमत बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।भारतका पूर्वन्यायाधीश, पत्रकार तथा राजनीतिक दलका नेताहरुले नेपालसँग हेपाहा व्यवहार नगर्न सरकारलाई आग्रह गर्दै आएका छन् । नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले झण्डै दुई महिनायता नेपालमा नाकाबन्दी लगाउँदै आएको छ ।

 

तपाईको प्रतिक्रिया