kanchanpur khanepani

१ कार्तिक, राजकुमार पासवान  सप्तरी। कंचनरुप नगरपालिका ५ स्थित कंचनपुर हटिया स्थित खानेपानी आयोजना सुरुवात भएको दुई दशक वितिसक्दा पनि पुरा हुन सकेको छैन । गत आर्थिक बर्ष २०७२-७३ मा कञ्चनपुर स्थित खानेपानी आयोजनाका लागि रु ५० लाख बजेट विनियोजन गरिएको थियो । तर खानेपानी आयोजना समितिका पदाधिकारीहरु निष्कृय बन्दा एक पैसा पनि खर्च नभई त्यसै फिर्ता गएको छ ।

खानेपानी निमार्णका लागि वर्षेनी रकम आउँछ, त्यसै फिर्ता भएर जान्छ । तर जुन उद्देश्यका लागि रकम आएको हुन्छ त्यो कामप्रति सम्बन्धित निकायले कुनै किसिमिको ध्यान नदिँदा रकम आएर सोझै फिर्ता हुँदै गएको छ । कञ्चनपुरसंगै जिल्लाको पूर्वी भेगमा शुरु गरिएको खानेपानी आयोजनाका निम्ति बजेट आउँदै र त्यसै फिर्ता हुँदै आएको छ ।

जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका अनुसार यो खानेपानी आयोजनाका निम्ति प्रत्येक बर्ष बजेट विनियोजन हुँदै आएपनि खर्च हुन सकिरहेको छैन् । आयोजना शुरु भएकै समयमा हेमराज तातेड समितिका अध्यक्ष थिए । उनी करिब पाँच बर्षसम्म अयाोजनाको अध्यक्ष बनेका थिए । पछि सभासद् बनेर मन्त्री बन्दा महेन्द्र चौधरी कार्यबाहक अध्यक्ष बने । तर पनि आयोजनाको काम अगाडि बढ्न सकेको छैन् ।

कार्यबाहक अध्यक्ष चौधरीले भने–“आयोजनालाई अगाडि बढाउन बारम्बार जिल्ला खानेपानी कार्यालय धाएपनि कसैले कुनै चासो लिएको छैन् ।” कार्यालयका व्यक्तिहरु भने आफूहरुले काम अगाडि बढाउन ठेक्का लगाएपनि ठेकेदार कम्पनीहरुका कारण काम अगाडि बढ्न नसकिएको बताउँछन् । कार्यालयका इन्जिनियर शैलेन्द्र झा यो आयोजनालाई पूरा गर्न २०५९ सालमै टेण्डर गर्दा बिभिन्न कम्पनीले जिम्मेबारी लिएपनि कसैले पूरा नगरेको बताउँछन् । उनका अनुसार अनबर दफाली, अरुण प्रधान, बिनित झासहितका कम्पनीले ठेक्का लिएपनि काम गरेनन् ।

यसपछि गत बर्ष मात्रै सबैको ठेक्काम रद्द गरेर नयाँ टेण्डर निकालिएको थियो । तर ठेक्का पाए मुकेश यादवको कम्पनीले । यो कम्पनीले खानेपानीको ६ वटा कामको ठेक्का यसअघि नै लिइसकेको र काम पूरा नगरेकाले यो ठेक्का पनि रद्द गरी नयाँ टेण्डर आह्वान गरिसकिएको झाले जानकारी दिए । इन्जिनियर शैलेन्द्रले भने–“काम गर्न सकियो भने अहिले पैसाको अभाव छैन,कञ्चनपुर खानेपानी योजनाको काम अघि बढाउन चाँडै नयाँ व्यवस्थापन समिति निमार्ण गरि हामी अघि बढ्छौं,त्यसको लागि स्थानीयहरुले पनि सहयोग गर्नुपर्छ । ”

यो आयोजनाबाहेक कंचनरुप नगरपालिकाभित्रै एक गैर सरकारी संस्थाले निर्माण शुरु गरेको खानेपानी आयोजना पनि अलपत्र अवस्थामा छ । कंकालनी बहुउदेश्य सेवा केन्द्र भारदहले तीन बर्ष अगाडीदेखि शुरु गरेको निर्माण कार्य हालसम्म अधुरो नै रहेको छ ।  माँ जानकी खानेपानी उपभोक्ता समुह कञ्चनरुप ८ रुपनगर कलौनी टोलमा २०६९ सालमा निर्माण कार्यको थालनी गरिएपनि हाल सम्म पुरा हुन सकेको छैन । २८ लाखको लागतमा काम हुने बताइएपनि हालसम्म कति रकम खर्च भएको छ भन्ने तथ्यांक समेत बाहिर आउन सकेको छैन् ।

रामजानकी सरसफाई खानेपानी आयोजना कञ्चनरुप नगरपालिका ८ घोघनपुर तथा कञ्चनरुप नगरपालिका ७ स्थित कुजराहीमा निर्माणाधिन अवस्थामा रहेको छ । के कारणले काम रोकिएको हो ? यसबारे जानकारी दिने कोहि पनि छैनन् । आयोजनाको निर्माण थाल्ने कंकालनी बहुउदेश्य सेवा केन्द्र भारदहका अध्यक्ष नुनुदेवी झा ठगी मुद्दामा कारागारमा छन् । खानेपानी आयोजानको १४.५ प्रतिशत श्रमदान र ५.५ प्रतिशत नगद तथा खाता समेत कंकालनी बहुउदेश्य सेवा केन्द्र भारदह अध्यक्ष झाले लगेको समितिका पदाधिकारीहरुले बताएका छन् । यो कागजात लगेसँगै कसैले कुनै किसिमको चासो समेत नदेखाएको उनीहरुको भनाई छ ।

खानेपानी आयोजना बारेमा कंचनपुरका स्थानीय बुद्धिजिविहरु सँग कुराकानीमा आधारित…

रामनारायण साह (निवर्तमान अध्यक्ष) कंचनपुर

“खानेपानी योजनाले शुरुमा उपभोक्ता समिति गठन गर्यो । उपभोक्ता गठन गरी सकेपछि र उपभोक्ताले काम गर्ने थालेपछि पछि के कुन मनसायले ठेकेदारी बाट सञ्चालन गर्न लगाइयो । सबैलाई थाह छ । ठेकेदारले काम गर्दा उपभोक्ताले राम्रो काम होस् भनेर निरिक्षण गर्दा उनीहरु काम गर्दा खेरी अधुरो काम गरे पाईयो । तर अब चाहि ढिलो भइसक्यो । नयाँ टेन्डर खोलेर अर्को ठेकेदार काम दिएर भएपनि चाडै काम सञ्चालन गर्नपर्छ । त्यसका लागि मैले गर्न सक्ने सहयोग गर्न तयार छु ।”

रामभरौसी रौनियार (निवर्तमान उपाध्यक्ष) कंचनपुर

“हाम्रो कार्यकालमा हेमराज तातेड खानेपानि समितिको अध्यक्ष रहेको थियो । समितिको लार्पावाहीको कारण ठेकेदारलाई कुनै किसिमको कार्यवाही नगरेकोले निमार्ण सामग्रीहरु अहिलेसम्म खानेपानी हाता भित्र फयालिएको आबस्था छ । खानेपानी कर्मचारी र व्यवस्थापन समितिसँग मिलेको छ । कर्मचारीहरुले पनि कुनै किसिमको चासो दिएको छैन ।”

युगलकिशोर रौनियार(समाजसेवी)

“समितिको निष्क्रियता तथा ठेकेदारको लापरवाहीको कारण यहाँका जनताहरु शुद्ध खानेपानी खानबाट वञ्चित भएका छन । यस बिषयमा यहाँका उपभोत्ताहरु बारम्बार आवाज उठाउदाँ पनी सम्बन्धित निकाय मौन बसेका छन । स्थानीय जनता पनि जागरुक छैन ।”

सचिव कुशेश्वर साह ( बहुजन शक्ति पार्टी सप्तरी )

“कञ्चनपुर खानेपानी उपभोत्ता समिति असफल भएको कारणले हाल सम्म यस खानेपानीको पुर्णरुपमा निमार्ण हुन नसकेको हो । नगरवासीहरुले शुद्ध पानी खानको लागि आशा गरेको थियो । त्यो खानेपानी चकना चुर भएको छ । खानेपानी पुर्ण रुपमा निमार्ण हुन नसक्नुमा व्यवस्थापन समिति र सम्बन्धी कार्यालय जिम्मेबार छन् ।”

अध्यक्ष जिवछ सरदार ( बाँतर सरदार कल्याण्कारणी सप्तरी )

“म नगर विकास समितिको अध्यक्ष पदमा रहेको बेलामा खानेपानी परियोजनाको बिषयमा खानेपानी तथा सरसफाई आयोजना राजविराजमा बुझदाँ ठेकेदारको लार्पावाहीले काम अघि नबढेको थाह पाएको थिए । त्यस पछि ठेकेदारलाई कार्यवाही गर्न खानेपानी राजविराजमा पहल गर्न अनुरोध गरेका थिए ।”

बच्चु सरबरिया ( उपाध्यक्ष दलित सरोकार मञ्च,नेपाल,सप्तरी)

“खानेपानी योजनाको व्यवस्थापन समिति र यहाँ जनसमुदायले चासो नदिदाँ खानेपानी योजना निमार्ण हुन नसकेको हो । कञ्चनपुर नेताहरु धेरै भए तर विकास निमार्णको लागि नेतृत्व कसैले गर्न सकेन ,त्यसको दुष परिणाम हो खानेपानी योजना । अब नयाँ व्यवस्थापन समिति निमार्ण गरेर तत्काल काम अघि बढाउनु पर्छ । त्यसका लागि यहाँ नागरिक समाज र राजनीतिक दलहरु एक जुट भएर जिल्लामा पहल गर्नुपर्छ । “

तपाईको प्रतिक्रिया