Untitled

०२ कात्तिक, दिलिप साह राजविराज। मधेश केन्द्रित दलहरुलाई बाहिर राखेर संविधान कार्यान्वयन हुन नसक्ने नेपाली काँग्रेसका साँसद रञ्जित कर्णले बताएका छन् । उहाले संविधान कार्यान्वयनका लागि नेपाली काँग्रेस, एमाले, माओवादी र मधेश केन्द्रित दलहरु एक ठाउँमा आउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री पुष्षकमल दाहाल र काँग्रेसका सभापति शेरबहादुर देउवालाई चारै शक्तिलाई एक ठाउँमा ल्याउन पहल गर्न आग्रह गर्नुभयो ।
साँसद कर्णले मधेश केन्द्रित दललाई बाहिर राखेर स्थानिय निकायको संरचना बनाइएमा उनीहरुले नमान्ने र स्थानिय निकायको चुनाव पनि नहुने राजविराज स्थित आफ्नै निवासमा मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो । सिमांकन, जनसंख्याको आधारमा गाउँपालिका तथा निर्वाचन क्षेत्र जस्ता मूल मुद्दामा मधेश केन्द्रित दलले राखेको असंतुष्टि लाई तत्कालै समाधान गर्न प्रधानमन्त्री संग आग्रह गर्नुभयो ।

गाउँपालिका बनाउने प्रक्रियालाई तत्काल स्थगित गरेर मधेश केन्द्रित दलहरुको जे–जे विषयमा असहमति छ पहिला त्यो सामाधान गर्न म प्रधानमन्त्रीलाई आग्रह गर्दछु उहाले भन्नुभयो । मधेश केन्द्रित दललाई बाहिर राखेर ८० प्रतिशत सभाषद्ले हस्ताक्षर गरी जारी गरेको संविधान अहिले सम्म कार्यान्वयनमा नआएको बताउँदै साँसद कर्णले भन्नुभयो– मधेश केन्द्रित दललाई बाहिर राखेर स्थानिय निकायको संरचना बनाई चुनावमा गए भने उनीहरुले चुनावमा भाग नै लिदैन र संविधान कार्यान्वयन हुँदैन ।

जिल्ला मतदाता अधिकार मञ्च सप्तरीको सहयोगमा आयोजित पत्रकार सम्मेलनमा साँसद कर्णले सप्तरीमा व्यापक भ्रष्टाचार बढेकोले यसलाई नियन्त्रण गरी विकासिय काममा तिब्रता ल्याउन जिल्लाको सबै गाविसमा अभियान संचालन गरेको जानकारी दिनुभयो । उहाले अभियान अन्तर्गत जिल्लामा राष्ट्रिय तथा स्थानिय स्तरमा सञ्चालित योजनाहरुको अनुगमन गर्ने, गुणस्तरीय निर्माण काम गर्नका लागि दवाव दिने र योजनाहरु समयमा सम्पन्न गराउनका लागि पहल समेत गर्ने बताउनुभयो ।

आगामी बैशाख भित्र गजेन्द्रनाराण सिंह एयरपोर्टको डेढ किलोमिटर रनवे कालोपत्रेको काम सम्पन्न हुने जानकारी गराउँदै कर्णले विकासको नाममा सबै राजनीतिक दल पार्टी भन्दा माथि उठेर एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो । ५ बर्ष भित्र जिल्लाको सबै गाविसलाई हिलोमुक्त बनाउने प्रतिवद्धता व्यक्त गर्दे उहाले यसका लागि गाविसहरुमा दवाव समूह बनाएर दवाव दिने र समस्याहरुको बारेमा स्थानियहरु संग अन्तरक्रिया गरी समाधानको उपाय खोज्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया