३ कात्तिक सुनसरी  । असोज १ गते सप्तकोसी नदीमा डुंगा दुर्घटना भई वेपत्ता भएकाहरुलाई सुनसरी प्रशासनले मृत घोषणाको तयारी थालेको छ । नदीमा वेपत्ता भएकाहरु एक महिना वित्दा समेत फेला पर्न नसेकेको र अवस्था नखुलेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले वेपत्ता भएकाहरुको हकमा मृत घोषणाको प्रकृया अघि बढाएको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापाका अनुसार केहिदिन भित्र बस्ने जिल्ला विपद व्यवस्थापन समितिको बैठकले डुंगा दुर्घटनाका क्रममा वेपत्ता ९ जनालाई मृत घोषणा गरिने छ । मृत घोषणा गरिएसँगै मृतकका परिवारले १ लाखका दरले क्षतिपूर्ति पाउने छन् । निमित्त प्रजिअ थापाले बैठकको निर्णय पश्चात आवश्यक प्रकृया पुरा गरी परिवारलाई क्षतिपूर्ति वापतको रकम उपलब्ध गराइने जानकारी दिनुभयो ।

क्षतिपूर्तिका लागि भने मृतकका परिवारले स्थानीय निकायबाट मृतकको नाममा मृत्यु भएको भनि उल्लेख भएको कागजी विवरण अर्थात मृत्यु दर्ता प्रमाण पत्र पेश गर्नु पर्ने छ । ६२ जना सवार डुंगा सप्तकोशी नदीमा पल्टंदा ५३ जना बाँच्न सफल बनेका थिए । दुुर्घटनामा परी ९ जना कोशी नदीमा हराएका थिए ।

वेपत्ता भई हालसम्म फेला पर्न नसकेकाहरुमा प्रकाशपुरका डुंगा चालक ४० वर्षिय तुफानी चन्द्रवंशी, सोही स्थानकी ३० वर्षिया सिता कविरथ, वर्ष ४० कि सकुन्तला चन्द्रवंशी, ४५ कि पार्वती चन्द्रवंशी र सोही स्थानकै १२ वर्षिया अनिता चन्द्रवंशी रहेका छन् । अन्य वेपत्ता हुनेहरुमा महेन्द्रनगर ५ का २५ वर्षिया मिना झा, सोही स्थानका ३ वर्षिया पुजन झा, वर्ष ७ कि रेखा र पश्चिम कुसाहा १ का ६० वर्षिया चन्द्रिका यादव रहेका छन् ।

दुर्घटना पश्चात गठित छानविन समितिले डुंगा चालकले मादक पदार्थ सेवन गर्नुलाई प्रमुख कारण सहितको प्रतिवेदन सार्वजनिक गरेको थियो । दुर्घटना पश्चात कोसीमा लाइफ ज्याकेट अनिवार्य गरिएको छ ।

तपाईको प्रतिक्रिया