१७ कात्तिक, दिलिप साह राजविराज । सूर्य पुजाको लोकपर्व छठको लागि सर्वसाधारणहरुले आवश्यक सामग्री खरिद गर्न तथा जलाशयमा पूजा स्थलको सरसफाइ एवं सजावटमा जुटेका छन् । सप्तरीको भगवती पोखरी, कल्टुदासपोखरी, तुरन्ती पोखरी, पुर्णी पोखरी, झल्ही पोखरी, बिहारपुर पोखरी, सिस्वाबेल्ही पोखरी, खैरसाल पोखरी, कोशी ब्यारेज, लगायतका जलाशयमा छठ मनाउनका लागि सर्वसाधारणहरु तयारी जुटेका छन् ।

पुजा स्थलहरु सुरक्षित गर्नुका साथै घाटको झकिझकाउ पार्ने काम युद्ध स्तरमा शुरु गरेका छन् । छठ पर्वमा गाइने गीत तथा धुनहरु सर्वत्र बजन थालेको छ । सप्तरीको सदरमुकामर राजविराज सहित ग्रामिण भेगका प्रत्येक चौक–चौराहा एवं घरहरुमा छठपर्वको गीतहरु बज्ने गरेको छ । जिल्लास्थितका एफएमहरुले समेत छठ पर्वका विशेष गीतहरु बढी समयसम्म बजाउन थालेको छ ।

अहिले घरघरमा मात्र होइन, सार्वजनिक ठाउँमा लाउडस्पिकर राखेरै छठ पर्वको गीतहरु गुञ्जन थालिएको छ, यतिबेला जिल्लाको राजविराज सहित ग्रामीण बजारमा लोकभाषाका समेटिएका एल्बम, सिडी र भिसिडीको विक्री पनि बढेको छ । मैथली तथा भोजपुरी भाषामा छठ सङ्गीत गुञ्जिने गरेको छ । छठ लोकभाषाको लोकप्रियताकै कारण जिल्लामा सञ्चालित ७ वटै स्थानीय एफएम रेडियोहरुले पनि अहिले छठ लोकभाषालाई विशेष स्थान दिने गरेको छ ।

यस पर्वमा श्रद्धालुहरु सूर्य देवतासँग प्रार्थना गर्नुको साथै आफ्नो दुःख, कष्ट र रोग व्याधीको नास होस भन्ने कामना समेतका लागि मनाइने यो पर्व विगतको वर्षहरु देखि महँगो र भडकिलो बन्दै गएको छ । पुजा सामग्री, ढाकी, डाला, माटाका हात्ती, केराको घरी, नैवेधका रुपमा भाती–भातीका परिकार तथा फलफूलहरु समावेश गरिने यस पर्वमा तराईवासी मात्र होइन पहाडी तथा मुस्लिम समुदायका व्यक्तिहरुले पनि श्रद्धापूर्ण रुपमा मनाइन्छ । सक्नेले व्रतमा बस्ने, नसक्नेले फलफूल व्रतालुलाई दिएर सूर्यको आराधना गरिन्छ ।

तराईका सप्तरी, सिरहा, धनुषा, सुनसरी, मोरग, सर्लाही, रौतहट, बारा, पर्सा जिल्लामा धुमधामका साथ मनाइने छठ पर्व नजिकिदै जाँदा छठ पर्वमा चढाइने सामग्रीहरुको मूल्य आकाशिएको छ । छठ पर्वका लागि चढाउने केरा, नरिवल, उखु, ट्याव नेमो लगायतका सामग्रीको मूल्य गत वर्षको भन्दा यस वर्ष बढेको छ । जिल्लाको दुई हजार रुपियाँ सम्ममा केरा घौर (घरी) विक्री हुने गरेको व्यापारीहरु बताउँछन् ।
चम्पा चिनी केरा एक हजार पाँच सयमा घौर, नटबर केरा ५÷७ सयमा घौर, बन्सी बोट केरा ५÷६ सय रुपियाँ घौर, कुरकुटीया ४ सय रुपिया घौर, पेची ४÷५ सय रुपिया घौर, हजारी २ रुपिया घौरमा विक्री हुने गरेको केरा व्यापारीहरु बताउँछन् । गत वर्षको भन्दा ३० प्रतिशत मूल्य बढेको सर्वसाधारणहरु बताउँछन् ।

यस्तै छठ पर्वका लागि महत्वपूर्ण फलफूल मानिने नरिवल प्रतिगोटा ५० देखि ६० रुपैयाँसम्ममा विक्री भइरहेको छ । त्यसैगरी उखु प्रतिगोटा ५० देखि ६० रुपैयासम्ममा विक्री वितरण भइरहेको छ । छठ पर्वका सामग्रीको मूल्य निर्धारण नहुदाँ व्यापारीहरु आफु खुशि ढंगले मूल्य बढाएर सामान बेच्ने गरेको सर्वसाधारणहरुले गुनासो पोखेका छन् । छठका सामग्रीमा बढेको मूल्यको कारण यस वर्षको छठ महगीमै गर्नुपर्ने सर्वसाधारणहरु बताउँछन् ।

ब्रतालुहरुद्वारा सूर्य देवतालाई आइतबार साँझ अस्ताउदो र सोमबार बिहानको उदाउदो सूर्यलाई अर्घ दिएपछि यस पटकको छठ पर्व सम्पन्न हुनेछ । यो पर्व परिवारिक सुख समृद्धि र मनोकामना पुर्तिका लागि गरिन्छ । यसका अतिरिक्त आफ्नो दुःख, कष्ट र रोग व्याधीको नास होस भन्ने कामना गर्दै पनि यो पर्व मनाइन्छ ।

तपाईको प्रतिक्रिया