काठमाडौँ , २१ कात्तिक : सोमबार वीरगञ्जमा झडपका क्रममा मृत्यु भएका भारतीय नागरिकलाई चीनमा बनेको गोलीले मारिएको भन्दै नेपाल सरकारसँग २० लाख भारतीय रुपैयाँ क्षतिपूर्ति माग्न माग गर्दै रक्सौलको नागरिक चेतना मञ्चले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएको छ।

भारतीय विदेश मन्त्री सुषमा स्वराजलाई पनि बोधार्थ दिइएको सो पत्रमा मारिएका भारतीय नागरिक आशिषकुमार रामलाई नेपाली प्रहरीले गोली हानी घाइते बनाई तानेर नेपाली भूमिमा लगी टाउकोमा गोली हानी मारिएको आरोप लगाइएको छ।  नोभेम्बर ४ को मिति राखिएको सो पत्रमा नेपाली सशस्त्र बललाई नो म्यान्स ल्यान्डमा आउनबाट रोकिनु पर्ने, मधेसीहरुको राजनीतिक माग पूरा गराउन नेपाल सरकारलाई दबाब बढाउनु पर्नेलगायतका माग गरिएको छ।
नेपाली सीमा क्षेत्रमा चिनियाँ गतिविधि बढिरहेको भन्दै पत्रमा सतर्क हुन पनि भारत सरकारलाई आग्रह गरिएको छ।    भारतीय विदेश मन्त्रालयले बिहीबार गरेको पत्रकार सम्मेलनमा पनि काठमाडौँस्थित भारतीय दूतावासले यो विषयमा नेपाल सरकारसँग छानबिन प्रतिवेदन माग गरिएको जानकारी दिइएको थियो।

वीरगञ्ज घटनामा प्रहरीसँग झडप भइरहेकै अवस्थामा एक व्यक्ति ढलेको सामाजिक सञ्जालमा भाइरल भएको भिडियोबारे सोधिएको प्रश्नको जवाफमा प्रवक्ता विकास स्वरुपले यस्तो जानकारी दिएका हुन्। उनका अनुसार भिडियो पनि अनुसन्धानकै एउटा अङ्ग हुनेछ।

साभार श्राेतः पहिलाे पाेस्ट

 

mag

 

तपाईको प्रतिक्रिया