dangihat bhawan narendra basnet

२८ कार्तिक, नरेन्द्र बस्नेत बेलबारी । १९ जेठ ०७१ मा ठेकेदारसँग सम्झौता हुँदा मालपोत कार्यालय बेलबारीको भवन दुई वर्षमा निर्माण सम्पन्न गर्ने भनिएको थियो । सम्झौताअनुसार १८ जेठ ०७३ मै हस्तान्तरण गर्नुपर्ने भए पनि भवन निर्माण आधासमेत भएको छैन । भवन निर्माणको ठेक्का एके एन्ड गान्वा कन्स्ट्रक्सन शान्तिनगर काठमाडौंले पाएको छ ।

कम्पनीले चार करोड ९८ लाख ८१ हजार पाँच सय ४९ रुपैयाँ ६९ पैसामा भवन निर्माण सम्पन्न गर्ने ठेक्का पाएको छ । तर, ठेकेदार कम्पनीले निर्माणमा ढिलाइ गरेकाले तोकिएको समयमा निर्माण सम्पन्न नभएको मालपोत कार्यालय बेलबारीका प्रमुख खरुदेव चुडालले बताए ।

छिटो काम गर्न पटक–पटक आग्रह गरिए पनि ठेकेदारले विभिन्न कारण देखाउँदै काममा ढिलाइ गरिरहेको चुडालले बताए । साढे तीन तलाको भवन बनाउनुपर्ने भए पनि अहिले भवनको पहिलो तलाको पिलर राख्ने काम मात्र भएको छ । कार्यालय भवन समयमै निर्माण नहुँदा साँघुरो र अँध्यारो कोठामा दिउँसै बत्ती बालेर काम गर्नुपर्ने बाध्यता रहेको छ ।

कामको जिम्मेवारी बोध हुन नसक्दा सरकारी कार्यालय भवन समयमै निर्माण सम्पन्न नहुने रोग नै बनेको छ । ठेक्कामार्फत काम हुने गरे पनि नियमित अनुगमन नहुँदा कमसल निर्माण सामग्रीको प्रयोगसमेत व्यापक हुने गरेको बताइएको छ ।

नगरपालिका भवन पनि अलपत्र

main-Gabisa narendra basnet

बेलबारी नगरपालिकाको नवनिर्मित भवन पनि निर्माणकै क्रममा छ । भवन निर्माणका लागि ९३ लाख लागतमा गएको आर्थिक वर्षमै ठेक्का लागेको थियो । नगरपालिकाको भवन जग पुर्नेभन्दा थप काम हुन सकेको छैन ।  चालू आर्थिक वर्षका लागि पनि टेन्डर खुलाइसकिएको छ । त्यसो त समितिमार्फत काम गराए पनि नगरपालिकाको अहिलेको भवनसमेत अपुरो नै छ ।

उता छिमेकी डाँगीहाट गाविसको गाविस भवनसमेत अपुरो देखिन्छ । समिति नै बनाएर काम गरे पनि अहिलेसम्म काम हुन सकेको छैन । ठेकेदारहरू भूकम्प तथा नाकाबन्दीलाई कारण देखाउँदै ढिला गरिरहेका छन् । निर्माणमा ढिलाइ भइरहे पनि सहरी तथा भवन निर्माण विभाग विराटनगरले भने कसैलाई पनि ताकेता गरेको छैन । सरकारी काम कहिले जाला घाम भनेजस्तै बनेका छन् सरकारी कार्यालयका नवनिर्मितदेखि विस्तार गरिँदै आएका भवन ।

सात वर्षमा पनि पूरा भएन

main-Swasthya-Chauki narendra basnet
डाँगीहाटस्थित स्वास्थ्य चौकी भवन निर्माण सुरु भएको सात वर्ष बितिसक्यो । ०६७ भदौमा एमके कन्स्ट्रक्सन काठमाडौंले दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का पाएको थियो ।  ठेक्का सम्झौताअनुसार ०६९ भदौमै भवन निर्माण सम्पन्न हुनुपर्ने हो ।

तर, सात वर्ष बितिसक्दा पनि भवन निर्माणको काम ७० प्रतिशत मात्र पूरा भएको छ । एक करोड २५ लाखमा दुईतले २८ कोठाको भवन बनाउने गरी सम्झौता भए पनि काम भने हुन सकेको छैन । भवन नबन्दा स्वास्थ्य चौकी साँघुरो कोठामा खुम्चिएको छ ।

दैनिक ४० जनाभन्दा बढी बिरामी आउने स्वास्थ्य चौकीले जनाएको छ । भवन निर्माण सम्पन्न नहुँदा दुईवटा कोठामा स्थास्थ्य चौकी सञ्चालन गर्नुपरेको अहेब भूपेन्द्र तिम्सिनाले बताए । स्थान अभावमा सेवा सञ्चालनमा पनि समस्या रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया