०८ मंसिर, दिलिप साह राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार मधेशको माग सम्वोधन गर्न गम्भीर बन्नु पर्नेमा जोड दिदै माग पूरा नभए राष्ट्रिय आन्दोलन बाहेक अर्को विकल्प नरहेको बताउनु भएको छ । सप्तरीमा बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो कुरा बताएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई संघीय गठबन्धनको तर्फबाट दिईएको १५ दिने अल्टिमेटमको समायवधी समेत सकिन लागेको बताउँदै अध्यक्ष यादवले भन्नुभयो, ‘वर्तमान सरकार मधेशको माग सम्वोधन गर्न गम्भीर नदेखिएकोले राष्ट्रिय आन्दोलन बाहेक अर्को विकल्प छैन, अब हुने संघर्षको स्वरुप निर्णायक हुनेछ ।’

आफूहरु शालिन भएर प्रस्तुत हुँदैआएकोमा आफु ठूला भनाउने दलहरुले मधेशको भावनामाथि खेलवाड गर्ने काम गरिरहेको बताउँदै उहाँले मधेश आन्दोलन र मधेशको मागबारे अन्तर्राष्ट्रिय स्तरमा स्थापित भईसकेको जिकिर गर्नुभयो । अध्यक्ष यादवले भन्नुभयो ‘मधेशी जनताको कठोर आन्दोलन र बलिदानीलाई खेर जान दिनेछैनौं, मधेशको हक अधिकार संविधानमा उल्लेख नभएसम्म औचित्यहिन हुनेछ ।’

यस अघि मंगलबार सप्तरीको मल्हनियाँमा आयोजित पार्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता अशोक राईले मधेशबाट अस्तित्व, स्वाभिमान र पहिचानकालागि शुरु भएको आन्दोलनले राष्ट्रिय आन्दोलनको स्वरुप ग्रहण गरिसकेको बताउँदै यो आन्दोलनलाई दुनियाँको कुनै पनि ताकतले दबाउन नसक्ने दाबी गर्नुभयो । ‘मधेश आन्दोलनलाई दुनियाँको कुनै पनि ताकतले रोक्न सक्दैन, माग पूरा नभएसम्म आन्दोलन चलिरहन्छ’ उहाँले भन्नुभयो ‘मधेशको माग आदिवासी, जनजाती, दलित, एवम् शोषित उत्पीडित सबैको माग हो ।’

संघीय गठबन्धनको माग सम्वोधन गर्न दलहरुले आनाकानी गरिरहेकोप्रति आक्रोश व्यक्त गर्दै उहाँले माग सम्बोधन नगरे राज्यले यसको ठूलो मूल्य चुकाउनुपर्ने अवस्था सिर्जना हुने बताउनुभयो । ‘यो आन्दोलन मधेशको मात्र हो भने ठान्नु शासकहरुकालागि ठूलो भूल हुनेछ’ उहाँले भन्नुभयो ‘यो आन्दोलन मधेश, पहाड र हिमालका शोषित उत्पीडित एवम् विभेदमा पारिएकाहरुको आन्दोलन हो ।’ माग सम्बोधन नभए अबको आन्दोलनलाई राष्ट्रियव्यापी रुपमा भयावह एवम् निर्णायक आन्दोलनको रुपमा अगाडि बढ्ने नेता राईले चेतावनी दिनुभयो ।

कार्यक्रममा पार्टीका राष्ट्रिय उपाध्यक्ष एवम् २ नम्वर प्रदेश प्रमुख रेणु यादव, सांसद लक्ष्मी चौधरी, पार्टीका केन्द्रीय सदस्य अनिरुद्ध कुमार सिंह, जिल्ला अध्यक्ष दिनेश कुमार यादव, उपेन्द्रनारायण चौधरी (पगरीवाला) लगायतले सम्बोधन गर्नु भएको थियो । जिल्लाको पश्चिमी भेगका गाविसका विभिन्न पार्टीमा रहेका करिब सात सय जना संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया