११ मंसिर, राजविराज, दिलिप साह । ५० हप्ते सरसफाई अभियान प्रारम्भ गरेको सप्तरीका युवाहरुले शनिबार जिल्लाको दुई ठाउँमा सरसफाई गरेका छन् । अभियानको १३ औं हप्तामा सदरमुकाम राजविराज र क्षेत्र नम्बर ६ को बोदे बर्साइन बजारमा सरसफाई गरिएको छ ।

सप्तरी युथ नेपालले प्रारम्भ गरेको अभियानको १३ ओ. हप्ता राजविराजको रुपनी मोडस्थित हनुमानन मन्दिरदेखि गजेन्द्र चोकसम्म सरसफाई गरिएको छ । युवाहरुले सडकको दुबैतिर भएका फोहोर हटाउँदै आगामी दिनमा फोहोर नगर्न स्थानीयहरुलाई सचेत समेत गराएका छन् ।
सरसफाई तपाईंको हातमा हामी युवा तपाईंको साथमा भन्ने मूल नारासहित शुरु गरिएको अभियानको १३ औं हप्तामा नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र साहसहितकाले सहभागिता जनाएका थिए ।

यस्तै सप्तरी युथ नेपाल क्षेत्र नम्बर ६ द्वारा बोदे बर्साइन बजारमा पनि सरसफाई गरिएको छ । क्षेत्रिय संयोजक लोकेन्द्र यादवको पहलमा गरिएको सरसफाईमा जिल्ला सदस्य नन्दकिशोर गुप्तासहित सशस्त्र प्रहरी, स्थानीय व्यापारीहरुले समेत सहभागिता जनाएका थिए ।
सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र मैनाली, नेपाल प्रहरीका सई घनश्याम राय, बजार समिती अध्यक्ष देव नारायण साहसहितको सरसफाईमा सहभागिता थियो ।

यसैबीच राजविराज नगरपालिकाका कार्यकारी अधिकृत धिरेन्द्र यादवले युवाहरुको सरसफाइमा नगरपालिकाका कर्मचारीहरुले पनि सहभागिता जनाउने बताएपनि कुनै कर्मचारी आएनन् । कार्यकारी प्रमुख यादवले नगरपालिकाको लेटर प्याडमै युवाहरुले राजविराजको हनुमानन मन्दिरदेखि गजेन्द्र चोकसम्म गर्ने सरसफाइमा नगरपालिकाका कर्मचारीहरुले पनि सहभागिता जनाउने व्यहोराको पत्र शुक्रबार सार्वजनिक गरेका थिए ।

तर नगरपालिकाका कुनै पनि सरसफाई कर्मचारी सरसफाई गर्न नआएको युवा समितिका सरसफाई इन्चार्ज मोहन यादवले बताउनुभयो ।
युवाहरुको सरसफाइलाई दृष्टिगत गर्दै नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्सालीले युवाहरुलाई रु दुई हजार बराबरको सरसफाईको उपकरण उपलब्ध गराएका छन् ।

तपाईको प्रतिक्रिया