tiwari saptari ansan news

२२ मंसिर, दिलिप कुमार साह राजविराज । १५ दिनदेखि अनशनरत नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास कुमार तिवारीको जीवनरक्षा गरी सार्थक वार्ताबाट समस्याको समाधान गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारी द्वारा बुधबार जारी विज्ञप्तिमा अनसनरत तिवारीको स्वास्थ्य अवस्थाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको भन्दै सार्थक वार्ता र संवादबाट समस्याको समाधान खोज्न आग्रह गरेकी हुन् । विज्ञप्तिमा भनिएको छ– ‘विरोधको स्वरुप जस्तोसुकै भए पनि अनशनरत तिवारीको जीवनरक्षा एवं स्वास्थ्यप्रति संवेदनशील हुन, सार्थक वार्ता र संवादबाट समस्याको समाधान खोज्न आयोग सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।’

तिवारी स्वास्थ्य क्षेत्रको समग्र सुधार तथा सप्तरी जिल्लाको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको व्यवस्थापन तथा सुधार, लगायतका २६ बुँदे माग राखी विगत १५ दिनदेखि अनशनमा छन् । आयोगले सरकारी अस्पतालका भवनहरु तथा उपचारका उपकरणहरु जीर्ण बन्दै गएका, खानेपानीको अभाव, फोहोरको सही व्यवस्थापन नहुँदा अस्पताल क्षेत्रमा दुर्गन्ध फैलिने लगायतका समस्याहरु देखिएकोले अस्पतालहरुमा स्वच्छ पीउने पानी, खाना, शौचालय लगायत भौतिक सामग्रीहरुको उपलब्धता र गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता गर्न समेत सरकारलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया