२८ मंसिर, राजविराज  दिलिप  साह। मौसम परिवर्तन भएसँगै करिब एक साता देखि एक्कासि बढेको शीतलहर तथा बाक्लो हुस्सुका कारण सप्तरीसहित तराईको जनजीवन कष्टकरमय बनेको छ । चिसो हावाका कारण सप्तरी सदरमुकाम राजविराजको बजारमा चहलपहल निकै घटेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले घरबाहिर निस्कनसमेत समस्या हुने गरेको राजविराज–७ का महेन्द्र साहले बताउनुभयो ।

चिसोका कारण राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा पनि बिरामीको चाप बढेको अस्पताल स्रोतले जनाएको छ । खासगरी अस्पतालमा बालबालिका, वृद्धवद्धामा लाग्ने निमोनिया, खोकी, घाँटी दुख्नेजस्ता रोगका बिरामी अस्पतालमा देखापर्न थालेको बताइएको छ । यस्तै, बालबालिकामा कोलडेरिया, निमोनिया, ज्वरो, घाँटी दुख्ने, घाँटीमा टन्सिल देखापर्नेजस्ता बिरामी अहिले अस्पतालमा उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । त्यस्तै अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा पनि दम, खोकी, निमोनिया लगायतका बिरामीको चाप बढेको चिकित्सकले बताएका छन् ।

चिसो छल्नका लागि राजविराजस्थित विभिन्न चौकचौकमा दाउरा बाली आगो ताप्ने क्रम बढेको छ भने चिसोकै कारण सवारीसाधनमा यात्रुको चाप घटेको छ । चिसोले बिहानपख यात्रु नपाई कतिपय यात्रुवाहक बस ग्यारेजमा थन्क्याइएको छ भने कतिपय गाडीको समय तालिका परिवर्तन गर्नु परेको यातायात व्यवसायीले बताउँछन् । एक्कासि चिसो बढेपछि जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयहरुमा पनि सेवाग्राहीको उपस्थितिमा कमी देखिएको छ ।

तपाईको प्रतिक्रिया