singha_durbar_144895878
काठमाडौँ : नयाँ सरकार गठन भएपछि पहिलोपटक राष्ट्रिय सुरक्षा परिषद्‌को बैठक बसेको छ। सुरक्षा परिषद्को म‌ंगलबार अपरान्हको बैठकमा देशको समग्र सुरक्षा अवस्थाबारे छलफल भएको छ।
बैठकमा नाका केन्द्रित तराई मधेस आन्दोलन, भारतीय पक्षले लगाएको नाकाबन्दी र राष्ट्रिय सुरक्षामा उत्पन्न गर्नसक्ने असरबारे छलफल भएको थियो। बैठकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललगायत चारै सुरक्षा निकायका प्रमुखले देशको पछिल्लो वस्तुस्थितिबारे ब्रिफिङ गरेका थिए।

स्रोतका अनुसार बैठकमा सुरक्षा प्रमुखहरुले मधेस आन्दोलन तथा नाकाबन्दीले सुरक्षामा नयाँ चुनौती थपिएको बताउँदै तराई मधेसको समस्यालाई राजनीतिक तवरमा टुंगो लगाउनुपर्ने सुझाव दिएका थिए।

बैठकपछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले देशको समग्र परिस्थितिका बारेमा छलफल भएको जानकारी दिए। देशका विभिन्न भागमा भइरहेको आन्दोलन र ती क्षेत्रको सुरक्षा अवस्थामा बैठक केन्द्रित रहेको उनले बताए।

बैठकमा प्रधानमन्त्री केपी ओली, उपप्रधान एवम् परराष्ट्र मन्त्री कमल थापा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीम रावल, अर्थमन्त्री विष्णु पौडेलले गृहमन्त्री शक्तिबहादुर बस्नेत, प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्त र अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीलगायतको उपस्थिति रहेको थियो ।अन्नपुर्णपोष्टबाट

 

तपाईको प्रतिक्रिया