अमर काफ्ले इनरुवा
amar
रहर कसलाई हुन्छ र झुपडीको अध्यारोमा रुमल्लिन् । बाध्यता, त्यसमापनि शारीरिक असक्तता बाधक भैदिएपछि कस्को के लाग्छ । टपक्क टिपेर यो प्राणपनि लगिदिदैन् दैवले । सायद यही अध्यारो झुपडीनै मेरो संसार हो । तर कहिले सम्म । डुम्राहा ७ बस्ने कुकरु सदा सडक छेउको सानो झुपडीभित्रबाट तीनै अभिव्यक्ति व्यक्त गरिरहेका भेटिए ।
उमेरले ६० नाघिसकेका कुकरु यतिवेला एक्लै छन् । मागी विवाह गरेर भित्र्याएकी श्रीमतिको समेत साथ छैन् । श्रीमतिले छाडेर बेलैमा परपुरुषसँग सम्वन्ध गाँस्न पुगेपछि छोराछोरी हुने कुरै भएनन् । असक्त शरीर त्यही झुपडीमा विसाउदैछन् उनि ।
बाह्र बर्ष भएछ सदाले झुपडीमा दिनरात कटाएको । थोत्रा बोराले वरीपरि छेकेको उनको त्यो झुपडी । बरु आजकाल सुङगुर पाल्ने खोरहरु आधुनिक बन्न थालिसके । सदा भने मुस्किलले तीनचार हातको उचाईमा जसोतसो टेका लागेको थोत्राथात्री बोराकै छानोभित्र आफ्नो गुजारा चलाउँदै छन् ।
शारीरिक रुपले कुकरु अशक्त छन् । उनका हात जसोतसो चलेपनि गोडाभने सुकिसकेका छन् । घिर्सिएर बाहेक हिँडडुल गर्न नसक्ने अवस्थाका उनि घरपरिवार भएरपनि एक्लो छन् । सक्षम हुँदा सवैसँग सँगै बसेर काम गरी खाने उनको परिवारले विगत बाह्र वर्षयता उनलाई झोपडीमा एक्लै छाडिदिएको छ ।
कुकरु सदा अन्धविश्वासको पात्र बनेका त्यस्ता व्यक्ति हुन् । जसलाई परिवारले तिरस्कार गर्यो अनि अन्धविश्वासमा रुमलिएर घरबाट निकाल्दियो । कारण थियो त केवल कुष्ठरोग ।
कुष्ठरोगले समाउन थालेको पत्तो पाएपछि उनलाई समाजको रोहवरमा घरबाट निकालियो । परिवारले सानो झुपडी त्यही सडक छेउमा राखिदियो । त्यसयता उनले झुपडीमै आफ्नो संसार देख्न थालेको बाह्र बर्ष बितेछ ।
आजपनि उनि त्यसबेलाको बालापन सम्झन्छन् । बाबुआमासँग विताएका दिनहरु अनि विवाह पछिको त्यो सुखद जीवन । जब बाबुको मृत्यु भयो त्यसपछि सदालाई कुष्ठरोगले समातेको रहेछ । विस्तारै परिवारका सदस्य सबैले एकपछि अर्को गर्दै साथ छोडे अनि त आज म एक्लै । उनले लामो सास तान्दै, आँखाभरी आँसु छछल्काउँदै वेदना पोखे ।
रोग सर्छ भनेर बाहिर निकालिएको बताउने उनकी बुहारीसहितको परिवार झुपडी नजिकैं बस्छ । जसोतसो खाना उनिहरुलेनै दिँदा रहेछन् । सामान्य प्रकृतिको भएका कारण विस्तारै उनको रोग निको हुँदै गयो । यतिवेला उनका हातगोडामा कुनै घाउ छैनन् । कुष्ठरोग पूर्णतया निको भैसकेको जानकारहरु बताउँछन् । अपाङग समन्वय समितिले उपलब्ध गराएको ह्विलचेयरमा बसेर हिँडडुलको प्रयासरत भेटिन्छन् बेलाबखतमा उनि ।
उनको बारेमा सरोकारवालाहरुले निकै आवाज उठाए, भेद्भाव गरियो भनेर उनको परिवार समेतले हप्काई सहनु परेको रहेछ । पीडितका बारेमा कसैले सोचेनन् त्यसैले वषौंदेखि घृणाको पात्र सरह जीवन विताइरहन बाध्य बन्यो । कुकरुलाई चिन्नेहरुले दिएको जानकारी थियो त्यो ।
अपाङगता भएकाहरुका लागि काम गर्दै आएको करुणा फाउण्डेसन नेपाल सुनसरीले मानविय संवेदनशीलतालाई ख्याल गरी सदाको जीवनमा खुशीको संचार गराउन पहल थाल्यो । झुपडी भित्रबाट बाहिर घुमफिर गर्ने, परिवार र समाजमा रहेको अन्धविश्वासको खाडक पुर्ने जस्ता कार्यलाई निरन्तरता दिँदा उक्त प्रयासले साँच्चिकै कुकरुको जीवनमा आशातित परिवर्तन ल्याउन सफल देखिएको छ । उनि ह्विलचियर चढी हिँडडुल गर्न थाले । सवैजना राम्ररी बोल्न र हालचाल बुझ्न आउने थाले । फाउण्डेसनले अध्याँरो झुपडीमा रुमल्लिएको जीवनबाट बाहिर निकाल्न सदाका लागि टिनको घर निर्माणको क्रमनै थालनी गर्यो । जसकालागि गाउँसमाजले समेत साथ र समर्थन जनायो । जनश्रमदानमा समेत सहकार्य जुट्यो र कुकरु यतिवेला सोही घरमा बस्न थालेका छन् ।
कुष्ठरोगीको छाप परेको सदाको परिवार र सो वस्तीका वासिन्दामा सकारात्मक सोचको विकास गराउनु त्यत्ति सहज भने पक्कै थिएन् । विपन्न र दलित समूदायको बाहुल्यता रहेको वस्तीमा चेतना जगाउन निकै मेहनत गर्नुपरेको बताउने करुणा फाउण्डेसन सुनसरीका कार्यक्रम अधिकृत रमेश बराल ढिलैभएपनि आशाको किरण पलाएकोमा दङग छन् । बराल मात्र नभएर आज केहि हद सम्म भएपनि सदा स्वयं समेत खुशी छन् । ढिलैभएपनि कुकरु अन्धविश्वासको जरोलाई उखालेर मिल्काउने सक्षम पात्र बनेका छन् । आज उनले परिवार र गाउँसमाजको साथ पाएकाछन् । सायद जीवन जीवने आशाका नयाँ किरणहरु समेत ।

तपाईको प्रतिक्रिया