nepali yuva pakistani jail

२२ पुस, काठमाण्डाै । गत मंगलबार बिहान ७ बजेतिर आफ्नो जेल बाहिरको धुले मैदानमा पानी लगाइरहेका थिए- यमबहादुर सार्की । एकाएक जेलर आएर भन्यो- तयार होउ, तिमी नेपाल आजै फर्कंदैछौं ।पाकिस्तानको कराँची शहरभित्र रहेको ल्यान्डी जेलमा ८ सयभन्दा बढी कैदी थिए । उनीसँगै एउटै कोठामा १ सयभन्दा बढी भारतीय/पाकिस्तानी कैदी बस्थे । ती मध्ये आफूलाई मात्रै जेलबाट छुट्कारा दिएको खबरले यमबहादुर अचम्ममा परे । ‘मैंले नुहाएको छैन, केही समय लाग्छ,’ यमबहादुरले जेलरलाई जवाफ फर्काए ।

‘होइन–होइन । बाहिर गाडी तयार छ, एयरपोर्ट हिडिहाल,’ जेलरले आदेश दियो ।अचम्म मान्दै यमबहादुरले आफ्ना एकसरो कपडा ब्यागमा कोचे । कुनामा राखिएको प्लास्टीके चप्पल लगाए र, साथमा दिइएको सिन्ध प्रान्त सरकारको ‘घरफिर्ती अनुमति पत्र’ (डिपोर्टेसन लेटर), नेपाली दूतावास (इश्लामावाद)ले दिएको ट्राभल–डकुमेन्ट तथा घरफिर्ती टिकट पनि लिएरै बाटो लागे ।

nepali yuva pakistani jail2

‘म त गुजराततिर ठूलो पानी जहाज मात्रै देखेको मान्छे थिएँ । बितेको १४ वर्षदेखि जहाजमा बसेर माछा मार्ने काम गर्दै आएको थिएँ,’ काठमाडौंको चिसोमा काँपिरहेको स्वरमा यमबहादुर भन्दै थिए, ‘एकाएक ठूलो हवाइजहाजमा चढेर कराँचीबाट ओमान(मस्कट) हुँदै काठमाडौं उत्रिएँ ।’मंगलबार साँझ ८ बजे त्रिभुवन विमानस्थलबाट बाहिर निस्कँदा यमबहादुर ठूलो अन्योल र असमन्जसको स्थितीमा थिए ।

‘चिन्ता नगर्नुस्, म तपाईंलाई लिनका लागि झापादेखि आएको हुँ,’ भारतीय समुद्रमा माछा मार्दामार्दै पाकिस्तानी जेलमा पुगेका यमबहादुरबारेको समाचार पढेर उद्धार–समन्वयका लागि तयार भएका झापा, दुधेका युवा व्यवसायी सन्तोष थोप्रा लिम्बूले ढाप मार्दै भने, ‘अब गुल्मीको बडागाउँसम्म जाने र घर–परिवारलाई भेट्नेसम्मको व्यवस्था म गराउनेछु ।’सन्तोषका साथमा उनका दाइ मनोज लिम्बू र झापादेखिकै केही सहयोगीहरु पनि काठमाडौं विमानस्थलसम्म आएका थिए । सन्तोषले यमबहादुरको उद्धार–समन्वयमा घरफिर्ती टिकटसहित झण्डै १ लाख रुपैयाँ खर्च गरेका छन् ।

बडागाउँमा मछुवार–बग्रेल्ती
गुल्मीको सदरमुकाम तम्घासबाट पनि झण्डै ४ घण्टा भित्री गाउँको बाटो गाडीमा यात्रा गरेपछि पुगिन्छ— बडागाउँ । बडागाउँ नजिकै छोएर बग्ने खोलानाला पनि छैन, पोखरी अथवा माछापालन पनि छैन । तर, यो गाउँका अधिकांस युवा भारतको गुजरात हुँदै माछा मार्न समुद्रमा हेलिने गरेको कथा अनौठो छ ।

‘हाम्रो गाउँबाट अहिले गुजरात जाने अथवा समुद्रमा माछा मार्न जानेको संख्या २०÷२२ जति होला,’ पाकिस्तानी जेलबाट उम्केर आइपुगेका यमबहादुरलाई ‘जिम्मा लिन’ उनका बाबु अम्बरबहादुरसँगै बुधबार बेलुका काठमाडौं आएका छिमेकी श्याम राकशकोटी मगरले भने, ‘पहिले पनि हाम्रै गाउँका केटाहरु गुजरातमा अथवा पाकिस्तानतिर पक्राउ पर्दै छुट्ने गरेका थिए ।’

यसअघि, सन् २०१२ को सेप्टेम्बरमा गुल्मी, बडागाउँकै २५ वर्षे मीनबहादुर सर्तुङ्गे मगर माछा–भरिया बनेकै हैसियतमा कराँचीको मलिर जेलमा २९ महिना थुनामा बसेका थिए । मगर अहिले बडागाउँमा काठ काट्ने (आरावाल) काममा लागेका छन् ।

यमबहादुरका अनुसार, मासिक २५ हजार भारु तलब पाइने आशमा वर्षको छ महिनाजति समुद्रभित्रै जहाजमा दिनरात बिताउने काममा अरु सयौं मछुवार हुन्छन् । विशेषतः पाकिस्तानी सिमावर्ती क्षेत्रमा पाइने ‘लालपुरी’ जातको माछा मार्न मालिकहरुले खतरा रहेपनि जहाजलाई जथाभावी सीमापार लैजाने गरेका हुन् ।

‘पहिला मेरो भाइ बमबहादुर पनि समुद्रमा माछा मार्दामार्दै पक्राउ परेको थियो,’ यमबहादुर भन्छन्, ‘तर उसले भने भाग्यले तत्कालै छुट्कारा पाएर घर फि¥यो । अहिले बमबहादुर मलेशियामा छ ।’ उनको अनुसार सामुद्रीक सीमा नाघ्नासाथै पाकिस्तानी सामुद्रीक–सुरक्षामा खटिएका प्रहरी (नेभी)ले सिंगो जहाज नियन्त्रणमा लिएर नजिकैको कराँची बन्दरगाहमा लगिहाल्छन् ।

दूतावाससम्म कुरा पुर्‍याउनै कठिन
कराँचीभित्रको ल्यान्डी जेलमा गत वर्ष फागुनमा थुनिएपछि यामबहादुरले आफ्नो नेपाली पहिचान खुलाउन हरसम्भव प्रयत्न गरे । उनले नेपाली दूतावासदेखि नेपाल सरकारसम्म आफ्नो बारेमा जनाउन दिन खुबै पहल गरिहेरे ।

‘केही उपाय लागेन । अनि गुल्मी गाउँमा घरको ठेगानामा चिठी पठाउन थालें,’ उनले सुनाए, ‘बल्लतल्ल गाउँमा चिठी पुग्न थालेपछि घर परिवारबाट खोजीनिती सुरु भएछ । अनि परराष्ट्र मन्त्रालय हुँदै इश्लामावादको नेपाली दूतावासले मेरो स्थितीबारे थाहा पाएछ ।’

जेलमा छँदा प्लास्टीकको धागोले हातमा लगाउने ‘डिजाइनदार’ कल्ली बनाउन सिकेका उनले त्यही सामग्री बेचेका भरमा महिनाको २-३ हजार रुपैंया कमाउने गरेका थिए । तर, जेलभित्र रहेको क्यान्टिनमा केही खान अथवा सुर्ती खानैका लागि त्यो पैसा अपुग हुन्थ्यो । जेलले भने साताको एकचोटी आइतबार मात्रै दालभात दिने गरेको रहेछ । जेलमा अरुदिन भने सामान्य नान–दाल दिने गरिन्थ्यो ।

nepali yuva pakistani jail1

यमबहादुरले जेल पर्नुअघि छ महिनासम्म समुद्रमा माछा मारेको कामको मासिक २५ हजार रुपैंयाका हिसाबमा तलब पाउनुपर्ने थियो, त्यो पनि उठाउनै बाँकी छ । उनी गुल्मी गाउँ पुगेर फेरि तलब उठाउन गुजरात जाने योजनामा छन् । गुल्मी गाउँमा भएको थोरतिनो खेतीले १ महिना पनि खान नपुग्ने भएपछि आफू परिवार पाल्नका लागि खर्च जोहो गर्न भारततिर लागेको यमबहादुरले बताए । यमका ६५ वर्षे बाबु अम्बरबहादुर पनि गाउँमा दैनिक ४ सय रुपैंया पाइने ज्यामी काममा टहल्ने गरेका छन् ।

छोरो यमबहादुरलाई जिम्मा बुझ्न काठमाडौं आइपुगेका बाबु अम्बरबहादुर घर छाडेको दुई वर्षपछि छोरालाई छुन पाएर बिहीबार बिहान आँशुले भरिएका थिए । ‘आफूले कहिल्यै थाहा नपाएको माछा मार्ने काम गरेर अर्कै देशमा छोरो जेल परेको खबर सुनेर हामी गाउँमा रुँदै बसेका थियौं,’ अम्बरले भने, ‘धन्न बाँचेर आइस् छोरा ।’ यमबहादुरको गाउँमा १ छोरा र २ नाबालक छोरी रहेका छन् । उनी बाबु अम्बरका साथमा बिहीबार साँझ गुल्मी गाउँ फर्कंदैछन् । इकान्तिपूरकाे सहयाेगमा

तपाईको प्रतिक्रिया