chhath_puja

वीरगन्ज, २८ कात्तिक । श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिबिम्बको रुपमा मनाइने छठ पर्व आइतबारदेखि धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाइँदैछ।  सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड हो, छठ पर्व। तराईका सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वको विशेषता हो। सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउदो र उदाउदो सूर्यलाई पूजा गरिन्छ। यस पर्वमा चाहिने भाँडाकुँडा वस्तुजातको बन्दोबस्त तराईमा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ।

विशेष गरेर तराईवासीले कात्तिक शुक्लपक्षमा मनाउने यो पर्व चार दिनसम्म मनाइन्छ। कात्तिक महिनाको चौथीदेखि व्रतालु भई यो पर्व मनाउन सुरु गरिन्छ र सप्तमीको बिहान यो पर्वको समापन गरिन्छ। पहिलो दिन अर्थात् चतुर्थीका दिनलाई ‘अरबा–अरबाइन’  खान भन्ने गरिएको छ। यो दिनमा व्रतालुहरुले खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा गई नुहाइधुवाई गरेर शुद्ध भई चोखो खाना खाने गर्छन्। व्रतीले भोजनमा माछामासु, लसुन, प्याज र कोदो जस्तो वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्छन्। यो दिनलाई व्रतालुहरुले आँखा पनि भन्ने गन्ने गर्छन्।  पञ्चमी तिथि (दोस्रो दिन) लाई ‘खरना’ (संरक्षण अर्थात् पापको क्षय) भनिन्छ। खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन व्रतालुहरु दिनभरि निर्जला व्रत बस्छन् र सा“झ पख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गरिन्छ। प्रसादका रुपमा विशेष गरी पाकेको केरा र खीरलाई लिने गरिन्छ। त्यसपछि गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीले राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) चढाई सोही प्रसाद ग्रहण गर्छन्। यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ।  षष्ठीका दिन (तेस्रो दिन) गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी त्यसबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ। छठ पूजाका सामग्री तयार पार्दा विशेष चनाखो हुनुपर्छ। पूजाका सामग्री चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास छ। त्यसैले पूजा सामग्री तयार पार्दा महिलाले श्रद्धापूर्वक गीत गाउने गर्छिन्।  केरवा ज फरल घउरस वोपर सुगा मडराय।  मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय।।  छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुँदैन। छठ मातालाई चढाउने केरा सुगाले नखाऊँन् भनेर गीतबाटै सचेत गराउन खोजिएको छ।  सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरुकिया तथा मुला, गाजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरबा, ढाकन, माटोको हाथी ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउ“दै निर्धारित जलाशयसम्म पुग्ने गर्छन्। यस अवसरमा व्रतालु महिलाले श्रद्धापूर्वक गाउने गर्छिन् –  हातबा मे फूलवा के डलिया, छठ पूजन जाय।  छठी मैया होइब सहाय, छठ पूजन जाय।।  (हातमा फूलको डालो लिएर छठी मैयाको पूजाका लागि गइरहेका छौँ, छठी माता हामीमाथि विशेष कृपा बनाइराख्नु होला।)  निर्धारित जलाशयमा पुगेर परिकारहरू जलाशयको किनारमा राख्नुअघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँचपटक साष्टाङ्ग दण्डवत गर्छन्। त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुरूप ‘अरिपन चित्र’ कोरेका हुन्छन्।  त्यसपछि व्रतीले सन्ध्याकालीन अर्थात् अस्ताउन लागेको सूर्यलाई प्रसादस्वरुप अर्घ दिन पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म आराधना गर्ने गर्छन्। यस क्रममा व्रतीले दुवै हत्केलामा ‘पिठार’ र सिन्दूरलगाएर अक्षता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन्।

तपाईको प्रतिक्रिया