kanpur train accident attack

नयाँ दिल्ली ।  बिहार पुलिसले २० नोभेम्बरमा १५० जनाको ज्यान जाने गरी कानपुरको पुखरायामा भएको रेल दुर्घटना नेपालीको योजनामा आईएसको आक्रमणबाट भएको दाबी गरेको छ ।  मोतिहारीका एसपी जितेन्द्र राणालाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार यो रेल आक्रमणमा संलग्न तीनजना अभियुक्तको बयानपछि आईएसले आक्रमण गरेको रहस्य खुलेको हो ।

पक्राउ परेकाहरुसँगको लामो बयान र अनुसन्धानपछि कानपुर रेल दुर्घटनाका मास्टर माइन्ड दुबईमा बस्दै आएका नेपालका कारोबारी शम्शुल होदा रहेको बिहार प्रहरीले निचोड निकालेको छ ।  नेपालका कारोबारी शम्शुलले नै यो आक्रमणका लागि उनीहरुलाई लगानी गरेको दाबी भारतीय प्रहरीले गरेको छ। अनुसन्धानपछि खुलेको विवरण अनुसार नेपालका यी कारोबारीले आईएआईलाई पनि लगानी गरिरहेको दाबी भारतीय पक्षको छ ।

२० नोभेम्बर २०१६ मा भएको कानपुर रेल दुर्घटनामा  पटना-इन्दौर एक्स्प्रेस लीकबाट उत्रिँदा कम्तिमा पनि १५० जनाले ज्यान गुमाएका थिए ।  राणाले बताए अनुसार मोती पासवानसहित तीन आरोपीले कानपुर रेल दुर्घटनासँग जोडिएका कयौँ ठूला तथ्यको खुलासा गरेका छन् ।  एसपी राणाले भनेका छन्, ”शम्शुलले नेपालकै अर्का बृजकिशोर गिरी अर्थात बाबामार्फत कानपुर रेल आक्रमणको योजना बनाएका थिए ।”

motihari-police_Rail Attack kanpur train pakrau

मोतीले पुलिससँगको बयानमा भनेका छन्, ”पुखराया नजिकै रेलवे ट्रयाकलाई बम लगाएर उडाइदिएका थिए । यसका कारण २० नोभेम्बरको बिहानै पटना-इन्दौर एक्सप्रेस पुखराया नजिकै दुर्घटनाको शिकार भएको थियो ।”

एसपी मोदीका अनुसार यस घटनाका मूख्य योजनाकर्ता शम्शुलका भतिजा जियाउल हक र अन्य एकजना पनि सहभागी थिए । उनीहरुसँगै राकेश यादव, गजेन्द्र यादव र बृजकिशोर गिरीका साथै अन्य दुईजना पूर्वी चम्पारणबाट गएका थिए ।  “यही समूहले पूर्वी चम्पारणको घोडासहनमा पनि  अक्टोबरमा पनि घरेलु विस्फोटक पदार्थ लगाएर रेललाई उडाउने योजना बनाइएको थियो ।

नेपालबाट तीनजना पक्राउ

यस मामिलामा अहिलेसम्म ८ जना गिरफ्तार भइसकेका छन् । यिनमा मोती पासवान, मुकेश यादव र उमाशंकर पटेल पूर्वी चम्पारणका घोडासहन निवासी हुन् ।

बृजकिशोर, मुजाहिर अन्सारी र शम्भु गिरीलाई नेपालबाट पक्राउ गरिएको हो । जुबैर र जियाउललाई भारतीय प्रहरीले दिल्लीबाट पक्राउ गरेको हो । गजेन्द्र शर्मा र राकेश यादवको खोजी भइरहेको छ।

कसरी भयो यो घटनाको खुलासा

घोडासहनबाट २५ डिसेम्बरमा अरुण राम र दीपक राम वेपत्ता भएका थिए । २८ डिसेम्बरमा उनीहरुको नेपालको बारा जिल्लास्थित जङ्गलमा यी दुबैको हत्या भएको थियो ।

मृतकहरु बिहार पूर्वी चम्पारण रक्सौल थाना निवासी १८ वर्षीय दिपक राम र अरुण राम रहेको जिल्ला प्रहरी कार्यालय बाराले पुष्टि गरिसकेको छ ।

मृतक दुवैजना काकाभतिजा थिए । मृतक अरुण रामका दाइ दशरथ रामले शव पहिचान गरेका थिए । घटना विवरण दुवैजना खाना खाएर भारतीय नम्बरको गाडी चढी नेपाल आएको दशरथ रामले प्रहरीलाई बताएका थिए ।

बाराको जङ्गलमा हत्या

नेपाल आउने क्रममा अरुणको मोबाइलमा फोन आउनेबित्तिकै दुवैजना एउटै मोटरसाइकलमा परिवारलाई नभनी हिंडेको जानकारी दशरथले प्रहरीलाई गराएका छन् ।

उनीहरुको शव करैया–८ सहजनाथ मन्दिरदेखि डेढ किलोमिटर उत्तर जङ्गलमा प्रहरीले पुस २८ गते दिउँसो फेला पारेको थियो । दुवैजनालाई हातखुट्टा बाँधेर घाँटी रेटी हत्या गरिएको थियो ।

यही हत्याको आशंकमा भारतीय प्रहरीले मुजाहिर अन्सारीलाई पक्राउ गरेको थियो । मुजाहिरले पुलिसलाई बताए अनुसार रक्सौल-दरभङ्गा रेल ट्र्याकमा घोडासहन नजिकै घरेलु विस्फोटकबाट रेललाई उडाउने कोशिस भएको थियो ।

शम्शुल होदाले यसको योजना बनाएका थिए र यसमा बृजकिशोर, उनका साला शम्भु र मुजाहिर सहभागी थिए । ट्र्याक उडाउनका लागि शम्शुलले अरुण र दीपकलाई २०-२० लाख र स्कोर्पियो दिने बाचा गरेका थिए । शम्शुलले बृजकिशोरमार्फत ३-३ लाख पेश्की पनि लिएका थिए ।

दीपक र अरुणले ट्र्याकमा विस्फोटक पदार्थ त राखे तर विस्फोट गराउने तार जोड्न भुले । त्यहीकारण यो योजनाले हावा खायो । दुबैले पैसा पनि फर्काएनन् । जसका कारण उनीहरुलाई नेपालमा ल्याएर हत्या गरियो ।

यो प्रकरणमा आईएस जोडिएपछि भारतीय जासुस एजेन्सीहरु एनआईए, आईबी र रअको टीम मोतिहारी आइसकेको छ।

मोती पासवानको गिरफ्तारी र खुलासापछि नेशनल इन्भेस्टिगेसन एजेन्सी र अर्को जासुस एजेन्सीका प्रतितिनिध मोतिहारी पुगेर अनुसन्धान थालेका हुन् । आईबी, रअ, एटीएस र स्पेशल टीमले अलग-अलगरुपमा मोतीसँग बयान लिएका छन् । उनको बयानबाट अझै अहम तथ्यहरु खुल्ने दाबी गरिएको छ।  कारोबार दैनिकबाट 

तपाईको प्रतिक्रिया