काठमाडौं / आफ्नो शृंगार, हिल जुत्ता, विग र लुगा देखाउँदै मनिषाले भनिन्, “केटी बन्नु साँच्चिकै महंगो छ ।” तीन हप्ता भयो महेश महिलाको रुपमा बाहिर निक्लन थालेको । यद्यपि परिवार र साथीभाइका अगाडि उनी यही रुपमा देखिइसकेका छैनन् । दिउँसो व्यापारी र निष्ठावान छोराको भूमिकामा रहने महेश राति मनिषा बन्छन् । यो महिला रुप उनलाई सहज र आत्मीय लाग्छ ।
गत साताको एक साँझ मनिषाको शृंगार गरिरहेकी मुना पनि यस्तै दोहोरो जीवन बाँचिरहेकी छन् । महिला बन्ने चाहना पूरा गर्न मनिषाभन्दा मुनालाई गाह्रो छ । परिवारसँग सगोलमै बस्ने उनलाई राति घरबाट निस्कँदा ठूलै योजना बनाउनु पर्छ, विभिन्न बहाना र झुटको सहारा पनि चाहिन्छ ।
मुना र मनिषा रोलीको अपार्टमेन्टमा थिए त्यस दिन । आफ्नी संरक्षक रोलीलाई उनीहरु ‘आमा’ भन्छन् । “बाहिर रानी बनेर हिंड्नु सजिलो छैन,” मनिषा भन्छिन्, “पहिलेदेखि रानी बनेकाहरु आफ्नो क्षेत्रमा नयाँलाई देखेपछि आक्रमक हुन्छन् ।” यस्तो बेला कुनै ‘रानी’ को संरक्षणमा बाहिर निस्कँदा सजिलो र सुरक्षित भइने उनले बताइन् ।
पोहोरमात्रै ‘बाहिर’ निस्किएकी रोलीका मुना र मनिषाजस्ता ९ जना ‘छोरी’ भइसकेका छन् । रोली निकै स्नेही र सिकारुलाई नौलो रुपमा सहज अनुभव गराउन सिपालु भएकाले उनका धेरै ‘छोरी’ भएको मनिषा बताउँछिन् ।
फेसबुकमा भेटिएको एकजना साथै आफ्नै गाउँको भनेपछि उनले भेट्ने निधो गरिन् । अचम्म ! ऊ त रमेशकै साथी बिक्रम रहेछ (अहिले निरजा) । चितवनको आफ्नो गाउँमा रमेश र बिक्रम भएर घुमेका उनीहरु अहिले काठमाडौंका गल्लीमा रोली र निरजा बनेर स्कुटरमा हुइँकिरहेका भेटिन्छन् ।
अर्कोतिर मनु भने महिनामा केही दिनमात्रै महिला बन्छिन् बाँकी समय उनी कलेजको होस्टेलमा बस्ने विकास नै हुन् । कलेजको होमवर्क र परीक्षामा व्यस्त हुँदा धेरै बाहिर निस्कन नपाउने उनको महिला जीवन गोप्य नै छ ।
“परिवारको एक मात्र छोरो भएकोले पनि अभिभावकलाई आफ्नो बारे भन्न सक्दैन,” मनुले भनिन्, “पढाई सक्काएर आत्मनिर्भर बनेपछि मात्रै सबैलाई भन्नेछु ।”
उनले थपिन्, “जीवन धान्नका लागि पुग्ने कमाई गरेर छोराकोे कर्तव्य पूरा गर्न सकें भने बुवा–आमाले पनि मलाई महिलाका रुपमा स्वीकार्न सक्नुहुन्छ होला ।
शर्मिलालाई भने दोहोरो जीवन बाँच्नुपर्ने वाध्यता छैन, उनी खुलेरै ‘बाहिर’ आइसकेकी छन् । “अझै सजिलो त छैन, अनेकौं नामले बोलाउँछन मानिसहरु,” शर्मिला भन्छिन्, “तर घरमा आमाले मलाई यही रुपमा स्वीकारिसकेकाले धेरै सहज छ ।”
उनको हातमा लेखिएको ट्याटू ‘शंकर चौधरी’ ले भने उनलाई आफ्नो विगत सम्झाइरहन्छ । “मेटाउन सकिन्छ तर, १८ हजार रुपैयाँ लाग्ने भएकोले वास्ता गरेकी छैन,” उनले हाँस्दै भनिन् ।
(नाम परिवर्तन गरिएको छ)