काठमाडौं, २२ माघ । भारतले अहिलेको अवस्थामा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन हुन नसक्ने आफ्नो अडान यथावत रहेको प्रष्ट पारेको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले सार्क शिखर सम्मेलनसम्बन्धी भारतको धारणा यथावत् रहेको बताएका हुन् ।

‘तपाईं कसरी यो भन्न सक्नुहुन्छ ?’ भारतले सार्क सम्मेलन गर्ने बाटो खोलेको हो भन्ने प्रश्नमा विदेश मन्त्रालयका प्रवक्ता स्वरुपले भने, ‘हाम्रो लाइन स्पष्ट छ, हामी सार्कको सिद्धान्त र उद्देश्यमा प्रतिबद्ध छौं ।’

उनले कुनैपनि एक देशले क्षेत्रीय साझेदारी र अन्तरदेशीय आतंकवादलाई प्रश्रय दिएको अवस्थामा सार्क शिखर सम्मेलन हुनै नसक्ने प्रष्ट पारे ।

‘हामीले अहिलेको अवस्थामा इस्लामावादमा शिखर सम्मेलन हुनै सक्दैन भनेका हौं’, प्रवक्ता स्वरुपले भने, ‘कुनै एक देशले अर्को देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको अवस्थामा हाम्रो धारणा पुरानै हो ।’ भारतले मात्रै नभई अन्य देशले पनि यो अवस्थामा इस्लामाबादमा शिखर सम्मेलन हुन नसक्ने जनाएको उनले बताए ।आजको राजधानी दैनिकमा खबर छ।

तपाईको प्रतिक्रिया