काठमाडौं, २ फागुन । नेपालीमा एउटा भनाइ छ– ‘चौटा खान गएकी बूढी झोलमा डुबेर मरी ।’ यो भनाइ अरुको हकमा कत्तिको लागू हुन्छ, थाहा छैन । तर, राजनीतिक अवसर लुट्न एकपछि अर्को राजनीतिक दल चहार्दै हिंडेका मेधसी नेता रामचन्द्र झामा भने ठ्याक्कै मिल्छ ।

सुरुमा एमालेमा रहका झाले त्यहाँ रहँदा राम्रै अवसर पाए । तर, झालाई त्यतिले मात्रै पुगेन, अझै बढी चाहियो । उनी अवसरकै खोजीमा प्रचण्ड नेतृत्वको माओवादीमा हेलिए, तर प्रचण्डले पनि उनलाई हिस्स बनाइदिए ।

त्यसपछि बाबुरामको दौराको फेरो समातेर आफ्नो गुमेको राजनीतिक शक्ति आर्जन गर्न झा कस्सिए । तर, झा कस्सिएर मात्र के गर्नु ? उनको चाहना जता गए पनि पूरा हुने छनक देखिएको छैन । नयाँ शक्तिले भाउ नदिएर पेन्डुलम बनाएपछि झा यतिबेला धोका दिएको निष्कर्षमा मात्रै पुगेका छैनन्, आफूनिकटकासँग भन्न थालेका छन्– ‘आखिर बाबुरामले पनि धोका नै दिए ।’

बाबुरामले आफूपछि दोस्रो वरियताको नेता बनाउने आश्वासन दिएर माओवादीबाट ल्याए पनि बतनअनुसारको भूमिका नदिएपछि पहिलेदेखि नै असन्तुष्ट बनेका झा यतिबेला संगठन निर्माणमा बाबुराम उनको चाहनाअनुसार अघि नबढेपछि क्रुद्ध नै बन्न पुगेका छन् । झाले केही दिनअघि मात्रै बाबुरामलाई पार्टी छाड्नेसम्मको धम्की दिएका थिए ।

अधिकांश प्रदेशहरुमा देवेन्द्र पौडेल निकट व्यक्तिले जिम्मेवारी पाएपछि झाले नयाँ शक्तिभित्र आफू असुरक्षित हुँदै गएको महसुस गर्न थालेका छन् । झाले बाबुरामसँग पार्टी संगठनहरुमा आफ्नो हिस्सा माग्दै आइरहेका छन् । विशेष गरेर झाले उनको निर्वाचन क्षेत्र रहेको प्रदेश २ का जिल्लाहरुमा आफ्नो हिस्सा खोजेका थिए । तर, यी अधिकांश जिल्लामा देवेन्द्र पौडेलनिकट जिल्ला प्रतिनिधि छनौट भएपछि झा तिल्मिलाएका छन् ।साँघु साप्ताहिकमा खबर छ।

तपाईको प्रतिक्रिया