काठमाडौं, २ फागुन । ‘पानी बाराबार’ को जस्तै अवस्थामा रहेका एमाले र मधेसी मोर्चाबीच सम्बन्ध सुधार्न दुवै पक्षका दोस्रो तहका नेताले अघिल्लो साता गरेको प्रयास खेर गएको छ ।

चिसिएको सम्बन्ध सुधार्न दुवै पक्षका दोस्रो तहका नेताहरुले विभिन्न चरणमा अनौपचारिक छलफल र संवाद गरेका थिए । एमाले अध्यक्ष केपी ओलीले समेत तमलोपा अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग टेलिफोनमा कुराकानी गरेका थिए ।

ओलीले मोर्चासँग सम्बन्ध सुधार गर्न दोस्रो तहका केही नेतालाई वार्ता गर्न अह्राएका थिए । मोर्चा निकट स्रोतका अनुसार मोर्चाका नेतासँग अनौपचारिक कुराकानी गर्न ओलीले नै चासो देखाएका थिए ।

एमाले दोस्रो तहका नेतासँग कुराकानी गरेका मोर्चाका नेता उत्साहित हुनुको साटो असन्तुष्ट भएका छन् । संविधान संशोधन गरेर चुनावमा जाने आफ्नो प्रस्तावलाई एमालेका नेताले नमानेपछि मोर्चाका नेता थप असन्तुष्ट बनेका छन् । खासगरी प्रदेश सीमांकन फेरबदल गर्न एमाले तयार नभएको मोर्चाका नेताले बताएका छन् ।आजको नागरिक दैनिकमा खबर छ।

तपाईको प्रतिक्रिया