gadi triper truck fasekoकाठमाडौं, ३ फागुन । मेलम्चीको खानेपानी ल्याउन काठमाडौं उपत्यकाभित्रका खनिएका सडक कालोपत्रे हुन आठ महिना कुर्नुपर्ने भएको छ । सडकमा बिछ्याइएका पाइपको प्रेसर, हाइड्रोलिक र लिक परीक्षण गर्नुपर्ने भएकाले कालोपत्रे गर्न समय लाग्ने भएको हो । आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का अनुसार पाइपको प्रेसर, हाइड्रोलिक र लिक परीक्षण गर्न २० हजारभन्दा धेरै ट्यांकर पानी चाहिन्छ । यो भनेको १६ करोड लिटर पानी हो ।

उपत्यकामा सुक्खायाममा दैनिक नौ करोड र बर्खायाममा १२ करोड लिटर पानी वितरण हुँदै आएको छ । सुक्खा मौसम सुरु भएकाले सो परिमाणको पानी तत्काल जुटाउन सक्ने स्थिति छैन । त्यसो हुँदा मेलम्चीको पानी कुर्नुको विकल्प छैैन । खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी असोजमा मेलम्चीको पानी उपत्यका आउने बताएको छ ।

कालोपत्रे गर्न आतुर छौँ, तर समय लाग्छ : पिआइडी
पिआइडीका आयोजना निर्देशक तिरेश खत्रीले मेलम्ची खानेपानीको पाइप बिछ्याउन खनिएका सडकको सबै भाग कालोपत्रे हुन समय लाग्ने जानकारी दिए । ‘सडक कालोपत्रे गर्न हामी आतुर छौँ । तर, यसमा केही प्राविधिक जटिलता छन् । पाइपको प्रेसर, हाइड्रोलिक र लिक भए नभएको परीक्षण गर्नुपर्छ । यसका लागि २० हजारभन्दा धेरै ट्यांकर पानी चाहिन्छ । त्यसो भएकाले खनिएका सबै सडक एकैपटक कालोपत्रे हुँदैनन्,’ उनले भने ।

पिआइडीका अनुसार पाइप जोडिएका ठाउँ (जक्सन) छाडेर अन्य ठाउँमा कालोपत्रे सकिन अझै पाँच महिना लाग्न सक्छ । ‘पाइपको ज्वाइन्ट दुई–दुई मिटर छाडेर खनिएका सडकमा कालोपत्रे हुन्छ । यो काम यस आर्थिक वर्षसम्म सकिन्छ होला । केही ठाउँमा काम सुरु भइसकेको छ । उपत्यकाको सडकबाट धुलो हट्न भने केही समय लाग्ने देखिन्छ,’ खत्रीले भने ।

७२ किमि सडकमा १३ हजार खाल्डाखुल्डी
पिआइडीका अनुसार थोक वितरण प्रणाली (बिडिएस) अन्तर्गत उपत्यकामा ७२ किलोमिटर पाइप बिछ्याइँदै छ । बिछ्याइएका पाइपको मोटाइ १४ एमएम छ भने लम्बाइ ५.५ मिटर छ । यसलाई डक्टिभ पाइप भनिन्छ । यसले पानीको ट्यांकी मात्रै जोड्ने काम गर्छ । पहिलो चरणमा यस पाइपबाट उपत्यकाभित्रका ६ स्थानका ट्यांकी जोडिनेछन् । आरुबारी, महांकालचौर, बाँसबारी, बालाजु, महाराजगन्ज पानीपोखरी र ललितपुरको खुमलटारमा ठुल्ठूला पानी ट्यांकी निर्माण भएका छन् ।

सुन्दरीजल–आरुबारी, आरुबारी–महांकालचौर, महांकालचौर–चुच्चेपाटी–गौशाला–बानेश्वर, चाबहिल–महाराजगन्ज–बाँसबारी–गोंगबु–पानीपोखरी र चक्रपथका सडकमा डक्टिभ पाइप बिछ्याउन खाल्डा खनिएका छन् । ७२ किमि लम्बाइको उक्त सडकमा ५.५ मिटर लम्बाइको पाइप बिछ्याउँदा १३ हजार ९० ठाउँमा जक्सन (जोडिने स्थान) पर्छन् । पिआइडीका अनुसार प्रत्येक जक्सनमा पाइपको प्रेसर, हाइड्रोलिक र लिक परीक्षण अनिवार्य छ । पिआइडीले भनेअनुसार सडकको कालोपत्रे गरिए प्रत्येक जक्सनमा दुई–दुई मिटर छाड्नुपर्ने हुन्छ । यसो हुँदा सडक जक्सनैपिच्छे खाल्डो बन्ने अवस्था आउँछ । ‘बिछ्याइएका पाइपको प्रेसर, हाइड्रोलिक र लिक परीक्षण गर्न जक्सनमा कालोपत्रे गर्नुहुँदैन । एउटा जक्सनदेखि अर्को जक्सनसम्मको फरक एक सयदेखि २ सय मिटर हुन्छ । यो व्यावहारिक नै देखिन्छ,’ खत्रीले भने ।

वितरण सञ्जालको पाइप परीक्षण आवश्यक
वितरण सञ्जाल सुधार (डिएनआई) अन्तर्गत उपत्यकाभित्र ६ सय ७० किमि पाइप बिछ्याइँदै छ । त्यसमध्ये पाँच सय ३० किमि पाइप बिछ्याउने काम सकिएको छ । अधिकांश पाइप सडक खनेरै बिछ्याइएका छन् । सबै पाइपमा प्रेसर, हाइड्रोलिक र लिक परीक्षण गर्नुपर्ने खत्रीको भनाइ छ । डिएनआईअन्तर्गत बिछ्याइएका पाइपको जक्सनआसपासका क्षेत्रमा पनि कालोपत्रे नहुने भएको छ । डिएनआईअन्तर्गत सरदर ५० हजारभन्दा धेरै स्थानमा जक्सन रहनेछन् ।

सिस्टम परीक्षण गर्न मेलम्ची नै कुर्नुपर्ने
पिआइडीका अनुसार बिछ्याइएका पाइपको प्रेसर, हाइड्रोलिक र लिक परीक्षण गर्नुअघि बागमतीको पानी प्रयोग गरिनेछ । यसका लागि पनि बर्खायाम कुर्नैपर्ने हुन्छ । बर्खामा बागमतीको पानी बढ्ने भएकाले त्यो पानी जम्मा गरी सुन्दरीजलस्थित ट्यांकीमा हालिनेछ र पानीलाई पाइपमा छाडिनेछ । यसबाट केही हदसम्म पाइपको प्रेसर, हाइड्रोलिक र लिक परीक्षण हुने पिआइडीको भनाइ छ । तर, सिस्टम नै परीक्षण गर्न भने मेलम्चीको पानी कुर्नुको विकल्प छैन ।

‘पाइपको परीक्षण गर्न बागमतीको पानी प्रयोग गर्ने योजना छ । तर, यसका लागि बर्खायाम नै कुर्नुपर्छ । बागमतीको पानी सिस्टमभित्र हालिनेछ । यसले केही हदसम्म पाइपको प्रेसर, हाइड्रोलिक र लिक परीक्षण गर्नेछ । यद्यपि, यो पर्याप्त होइन,’ आयोजना निर्देशक खत्रीले भने ।

के हो हाइड्रोलिक परीक्षण ?
बिछ्याइएका पाइपमा पानीको भार बहन परीक्षण गर्ने कार्य नै हाइड्रोलिक परीक्षण हो । परीक्षणका क्रममा पानीको चाप र पाइपले धान्न सक्ने–नसक्ने हेरिनेछ । परीक्षण गरिँदा फेल भएको स्थानमा तुरुन्तै पाइप परिवर्तन वा मर्मत गरिनेछ । परीक्षण नै नगरी मेलम्चीको पानी सिस्टममा हालिए पाइप फुट्ने र चुहिने खतरा बढी हुने पिआइडीले जनाएको छ ।

हाइड्रोलिक परीक्षणका नाममा सडक भद्रगोल छाड्नुहुँदैन
दयाकान्त झा, प्रवक्ता, सडक विभाग
हाइड्रोलिक परीक्षणका नाममा सडकलाई त्यसै छाड्न मिल्दैन । संसद्को विकास समितिमा भएको छलफलमा उहाँहरूले सात दिनभित्र प्रेसर परीक्षण गरेर काम गर्छौैं भन्नुभएको छ । तर, हाइड्रोलिक परीक्षणका नाममा सडक कालोपत्रे गर्न अझै विलम्ब गर्ने हो भने हाम्रो भन्नु केही छैन । केही ठाउँमा सडक कालोपत्रे गर्ने प्रतिबद्धताअनुसार काम पनि सुरु भएको छ ।

१. काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी वितरण गर्न मुख्य लाइनमा ७२ किलोमिटर र भित्री लाइनमा ६७० किलोमिटर सडक खन्ने काम लगभग पूरा भएको छ ।

२. सडक खनेर बिछ्याइएको पाइपले पानीको दबाब थेग्न सक्छ कि सक्दैन भनेर परीक्षण गर्न बाँकी छ । परीक्षण गर्न २० हजार ट्यांकर अर्थात् १६ करोड लिटर पानी वितरण प्रणालीबाट एकैपटक बगाउनुपर्छ ।

३. तर, त्यति धेरै पानी बगाउन मेलम्ची नआएसम्म सम्भव छैन । काठमाडौंमा अहिले सुक्खा याममा नौ करोड लिटर र वर्षायाममा १२ करोड लिटर पानी वितरण हुन्छ । त्यो पनि फरकफरक क्षेत्रबाट वितरण हुनाले एउटै धारबाट बगाउन सम्भव छैन ।

४. दबाब परीक्षण गर्न मेलम्चीकै पानी पर्खिनुपर्ने बाध्यताजस्तै छ । तर, मेलम्चीको पानी दसैँअगाडि आउने सम्भावनै छैन । तर, सडक जताततै खनिएको छ । त्यसैले सडक पिच गर्ने योजना अघि बढ्दै छ ।

५. तर, पानीको दबाब परीक्षण गर्दा चुहावट भएमा फेरि सडक खन्नुपर्ने हुन्छ । फेरि सडक खन्न नपरोस् भनेर आयोजनाले पाइप जोडिएको ठाउँमा दुई मिटर खाली राखेर पिच गर्ने योजना बनाएको छ ।

६. मुख्य लाइनका पाइप साढे पाँच मिटर मात्र लामा छन् । यी हरेक पाइपको सुरु र अन्त्यमा एक–एक मिटर पिच गर्न छाड्ने हो भने हरेक
साढे चार मिटरपछि दुई–दुई मिटरका खाल्डा हुनेछन् ।

७. मेलम्चीको मुख्य लाइनमा मात्रै ७२ किलोमिटर सडक खनिँदै छ । हरेक साढे चार मिटरपछि दुई–दुई मिटरको खाल्डा खनिए काठमाडौं उपत्यकामा १३ हजार खाल्डा हुनेछन् । त्यति धेरै खाल्डा हुन्छन् भन्ने जान्दाजान्दै पनि पानी आउने दिनको हिसाब–किताबविना सडक भद्रगोल पारिएको छ ।अाजको नयाँ पत्रिका मा खबर छ।

तपाईको प्रतिक्रिया