काठमाडौँ, २ मङ्सिर / समाज सेवाको क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने विश्वका चर्चित व्यक्तिलाई प्रदान गरिने ‘सिएनएन हिरो अवार्ड’ यस वर्ष नेपाललाई आफ्नो कर्म थलो बनाउनुभएकी अमेरिकी नागरिक म्यागी डोयनले जित्नुभएको छ । मङ्गलबार न्यूयोर्कमा भएको एक कार्यक्रममा उहाँलाई सो अवार्डद्वारा सम्मान गरिएको हो । दश वर्षदेखि नेपालमा रहेर उहाँले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आई रहनुभएको छ ।विशेष गरी उहाँले मध्यपश्चिमका टुहुरा असहाय सडक बालबालिकालाई आवाससहितको शिक्षा दिन सहयोग गर्दै आउनुभएको छ । मध्यपश्चिमका एक युवतीसँगको भेटपछि उहाँको जीवनले महत्वपूर्ण मोड लियो ।“त्यहाँ सशस्त्र द्वन्द्वबाट प्रभावित बालबालिका गिट्टी कुटिरहेको देखेपछि ममा बालबालिकाको क्षेत्रमा केही काम गर्ने सोच पैदा भयो” – उहाँले भन्नुभयो । सन् २००६ देखि सुर्खेतमा कोपिला भ्याली चिल्ड्रेन होम सञ्चालनमा ल्याई डोयनले ८ महिनादेखि १६ वर्षसम्मका ५० भन्दा बढी बालबालिकालाई आश्रय दिइरहनुभएको छ ।यस्तै उहाँद्वारा सन् २०१० मा स्थापित ब्लिनो फाउन्डेसनले सञ्चालनमा ल्याएको कोपिला भ्याली विद्यालयमा अहिले ३५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।अवार्ड पाइसकेपछि उहाँले भन्नुभयो, “म जब अठार वर्षको उमेरमा टेक्दै थिएँ, त्यतिबेलासम्म ५० बच्चाकी आमा भइसकेकी थिएँ । म आफ्ना बच्चालाई असाध्यै माया गर्छु । अनि नेपाललाई पनि धन्यवाद दिन चाहन्छु मलाई माया गरी आफ्नी छोरीको रुपमा स्वीकार गरेकामा ।”उहाँले अवार्डसँगै एक लाख अमेरिकी डलर प्राप्त गर्नुभएको छ । विश्वका दश उत्कृष्ट समाजसेवीमध्ये अनलाइन भोटिङ्मार्फत उहाँ यस वर्षको सिएनएन हिरो छानिनुभएको हो ।यसअघि नेपालका समाजसेवी अनुराधा कोइराला र पुष्पा बस्नेतले पनि सिएनएन हिरो अवार्ड जितिसक्नुभएको छ ।