२१ फागुन, इनरुवा ।  सुनसरीको नरसिंहमा सार्वजनिक जग्गा कब्जा गर्ने र रोक्ने समूहवीच झडप हुँदा दुई दर्जनबढी घाइते भएका छन् । नरसिंह ४ मा रहेको सुनसरी खोला किनारको जग्गाको विषयमा स्थानीयविच बढ्दो विवाद झडपमा परिणत भएको हो ।

दुई समूहवीचको दोहोरो झडपलाई मध्यनजर गर्दै थप तनाव बढ्न नदिन बबिया र नरसिंह गाविस क्षेत्रमा प्रहरीले निषेधाज्ञा जारी गरेको छ । झडपमा दुवै समूहका गरी दुई दर्जन बढी घाइते भएका छन् । ८ जना घाइतेलाई थप उपचारकालागि न्यूरो हस्पिटल विराटनगर रेफर गरिएको छ ।

अन्यको जिल्ला अस्पताल इनरुवामा उपचार भैरहेको छ । अधिकांश घाइतेको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । जग्गाको विवाद समाधानकालागि बोलाइएको दुई पक्षिय छलफलमा विवाद बढेपछि स्थानीय समूहवीच कुटाकुटको अवस्था सीर्जना हुन पुगेको सुनसरी प्रहरीले जनाएको छ । बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएपछि अवस्था भने नियन्त्रणमा आएको छ । उता सुनसरी प्रशासनले घटनाको विषयमा दुवै पक्षका अगुवाहरुलाई बोलाएर समस्या समाधानको पहल थालेको जनाएको छ ।

तपाईको प्रतिक्रिया