काठमाडौं, असोज २१
नयाँ सरकार निर्माणबारे पार्टीको धारणा सार्वजनिक गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पदाधिकारी बैठक अघि शीर्ष नेताहरू सुशील कोइराला, रामचन्द्र पौडेल र शेरबहादुर देउवाको बैठक बसेको थियो।
तीन शीर्ष नेताको बैठक लगत्तै पदाधिकारी बैठक बसेको हो। बैठकले अब सरकारको नेतृत्व आफैले गर्ने कि अरू कसैलाई सघाउने भन्ने बारे निर्णय गर्ने छ।
तीन शीर्ष नेतामा भएको सहमतिलाई पदाधिकारी बैठकमा पेश गरेपछि बैठकको निर्णय अनुसार पार्टीको निर्णय हुने कांग्रेसका एक नेताले सेतोपाटीलाई बताए।
अहिले कांग्रेसका केन्द्रीय सदस्यहरू बैठक स्थल बाहिर बसेका छन्।
नयाँ सरकार गठनको विषयमा छलफल र निर्णय गर्न आज बिहान साढे ८ बजेदेखि बस्ने भनिएको नेपाली कांग्रेसको बैठक अझै शुरु हुन सकेको छैन।
संविधानको धारा २९८ को उपधारा २ बमोजिम राजनीतिक सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले दलहरुलाई दिएको समय सकिनु केही घण्टा अघि नयाँ सरकारको नेतृत्व र गठनका विषयमा निर्णय गर्नका लागि कांग्रेसको केन्द्रीय समितिको बैठक आज बिहानका लागि तय भएको थियो। एक केन्द्रीय सदस्यका अनुसार अहिले पार्टी पदाधिकारीहरु प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेको कारण अरु सदस्यहरु बैठककक्ष बाहिर नै समितिको बैठकको पर्खाइमा छन्।
आजको बैठकले कांग्रेसले अबको सरकारको नेतृत्व आफैमध्ये कुनै एक नेताले गर्ने कि यसअघि एमाले र एमाओवादी नेतासँग भएको भनिएको भद्र सहमतिका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्ने वा विपक्षमा बस्ने भन्ने विषयमा निर्णय लिन सक्ने छ।
कांग्रेसको निर्णयमा ढिलाइ हुँदा नयाँ सरकारको गठनका लागि एमाओवादी र राप्रपा नेपाल समेतले अहिलेसम्म कुनै औपचारिक निर्णय लिन सकिरहेका छैनन्।

तपाईको प्रतिक्रिया