३ चैत्र, इटहरी। मृतकको आत्मा शान्ति पूजा (मानी मोलम) वृहत रुपमा सम्पन्न गरिएको छ । नेपाल तामाङ महिला घेदुङ सुनसरी र  हिमालय महायान् रिन्छेन् छ्योलिङ बुद्धिष्ट गुम्बाका आङी समूहको संयुक्त आयोजनामा पूजा सम्पन्न भएको हो ।

धरान उपमहानगरपालिकामा यस्तो पूजा विगत ३ वर्षदेखि हुंँदै आएको छ । हरेक फागु पुर्णिमाको दिन मृतकहरुको आत्मा शान्ति र मुक्तिका लागि बौद्ध धर्मावलम्वीहरुमा यो पूजा गर्ने जातीय परम्परा रही आएको छ । यस दिन भगवान बुद्धले आफुले प्राप्त गरेको ज्ञान र शक्तिको परीक्षामा सफल भई दिवंगत माता मायादेवीको आत्मा कहां  कस्तो अवस्थामा छ भनि ध्यान गरी हेर्दा ३२ कोटी देवता रहेको देवलोकमा पुर्नजन्म लिएको पाउनु भएको थियो ।

सोही अनुरुप यो पावन अवसरमा सबै मृतकको यसरी नै स्वर्गको वैकुण्ठवास होस्, मुक्ति र शान्ति प्राप्त होस् भनि भगवान बुद्धले प्रार्थना गरेकाले यस दिनलाई महत्वका साथ मृतकको मुक्तिका लागि प्रार्थना र पूजा गर्ने दिनको रुपमा बौद्धमार्गीहरुले मान्दै आएको गुम्बाका अध्यक्ष हर्कबहादुर गोलेले बताउनुभयो ।

यस वर्ष सातसय भन्दा बढीको संङ्ख्यामा सहभागिहरु आएको महिला घेदुङका सुनसरी अध्यक्ष विष्णु मोक्तानले बताउनुहुँदै विस्तारै यो सङ्ख्यामा बढोत्तरी भई रहेकोमा खुशी ब्यक्त गर्नुभयो । धरानका बौद्धमार्गी समुदायहरुले धरान–८ स्थित बौद्धदाह संस्कार परिसरभित्र निर्माण गरेको छोर्तेन (माने) मा गुम्बाका धर्म गुरु लामा खेम्पो तेन्जिङ वाइवाको नेतृत्वमा पूजापाठ र प्रवचन भएको आङी समूहका अध्यक्ष पूर्णिमाया गोलेले बताउनुभयो ।

गुम्वा वा घरमा बनाईएको पूजा कोठा (छोसेम) मा मृतकका परिवारले आफ्नो परिवारको दिवंगत सदस्यको आत्माको शान्तिका लागि पूजा गर्ने परम्परालाई वृहत रुपले सार्वजानिकस्तरमा नै पूजाको आयोजना हुनु राम्रो भएको नेपाल तामाङ घेदुङका राष्ट्रिय सल्लाहकार तथा पूर्व केन्द्रिय उपाध्यक्ष सुजेन्द्र तामाङले जोड दिनुभयो ।

पूजामा धनकुटा, सुनसरी, मोरङ, झापा, उदयुपुर, भोजपुर, तेर्हथुम लगायतका जिल्लावाट तामाङ, गुरुङ, शेर्पा, नेवार, मगर र थारु समुदाय नरनारीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया