०७ चैत, दिलिप कुमार साह राजविराज । सप्तरीमा वर्षासँगै परेको असिनाले सप्तरीको जनजीवन प्रभावित भएको छ । जिल्लाको पूर्वी र उत्तरी क्षेत्रमा ठूलो मात्रामा असिना खसेको छ । पूर्व–पश्चिम राजमार्गमा समेत खसेको असिना दुई फिटसम्म जमेको छ । करिब एक घण्टासम्म लगातार असिना खसेको स्थानीयहरुले बताएका छन् । सप्तरीको जण्डौल, बकधुवा गाविसका साथै कञ्चनरुप नगरपालिकामा व्यापक असिना खसेको छ । जिल्ला सदरमुकाम राजविराजसहित दक्षिणी क्षेत्रमा वर्षा भएपनि सामान्य असिना खसेको छ ।
पछिल्लो तीन दशकभन्दा बढी समयपछि यस्तो असिना खसेको बताउँछन् स्थानीय वृद्धवृद्धाहरु । कञ्चनरुप नगरपालिकाको बेंगरी निवासी डा. श्यामसुन्दर साहले – यस्तो असिना विक्रम सम्वत् २०४२ सालमा खसेको स्मरण गर्दै भन्नुभयो– ‘त्यसयता यत्रो ठूलो असिना खसेको अहिलेसम्म देखेको छैन ।अत्यधिक असिना र भारी वर्षाले सप्तरीको उत्तरी पूर्वी क्षेत्रमा लगाइएको बिगहौं विगहा गहुँबाली नष्ट गरेको छ । गहुँ पाक्ने बेलामा खसेको असिनाले सम्पूर्ण लगानी डुबाएको स्थानीय कृषकहरुले बताएका छन् ।
गहुँका साथै आँप लगायतका फलफूल समेत असिनाले नष्ट भएको छ । भर्खर फल बन्न थालेको आँपको सम्पूर्ण मञ्जरलाई असिनाले नष्ट गरेको छ । सप्तरीको सबैभन्दा बढी आँप फल्नेमध्ये कञ्चनरुप नगरपालिका र बकधुवा गाविस पनि एक हो ।यस्तै किसानहरुले लगाएको मुँगको दाल, बिभिन्न किसिमका तरकारीसहितका बालीहरु पनि असिनाले नष्ट गरेको छ ।

तपाईको प्रतिक्रिया