इनरुवा ११ चैत्र / स्थानीय निकायको निर्वाचनलाई लक्षित गरी गृह मन्त्रालयले मुलुकभरबाट ७५ हजार म्यादी प्रहरी माग गरेको छ। नेपाल प्रहरीले शुक्रबारैबाट म्यादीकालागि जिल्ला प्रहरी कार्यालयहरुबाट आवेदन बुझ्न थालिसकेको छ ।
म्यादी प्रहरीमा १८ वर्ष उमेर पुरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन पाउनेछन् । कुनैपनि फौजदारी कसुर नठहराइएको व्यक्ति मात्र म्यादी प्रहरीमा सम्मिलत हुन पाउने छन् । पूर्व सुरक्षाकर्मी तथा अनुभवीहरु यस पटकको भर्ना छनौट प्रकृयामा प्राथमिकतामा पर्नेछन् । योग्यता भने सामान्य लेखपढ गर्न जान्ने भएमात्रै पुग्ने छ।
चैत्र १७ गते बेलुकी ५ बजेसम्म जिल्ला प्रहरी कार्यालयमा आवेदन बुभाउने समयसीमा निर्धारण गरिएको छ । भण्डै दुई महिने अवधी वापत म्यादी प्रहरीले मासिक १७ हजार २ सय ३० रुपैया पाउने छन् । जसमा तराईका जिल्लाहरुमा खटिने म्यादीले दैनिक १ सय ९७ रुपैंया रासन भत्ता पाउनेछन् । ५५ दिन काम गरे वापत म्यादीले ४२ हजारको हाराहारीमा तलब पाउने छन् । उनिहरुले पोशाक समेत पाउने छन् ।

तपाईको प्रतिक्रिया