अमर काफ्ले ,इनरुवा चैत्र १६ सुनसरी/ठुलो परिमाणको गाँजा सहित सुनसरीको हरिपुर क्षेत्रबाट ३ जना युवा पक्राउ परेका छन् । ससस्त्र सीमा सुरक्षा बल विओपी भाण्टावारीको टोलीले १ सय ७५ केजी गाँजा सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भोजपुरका घनश्याम खड्का,सुनसरी प्रशासपुरका संजिव मुखिया र श्रीपुर जब्दीका विद्यानन्द मुखिया रहेका छन् । गाँजा ५ वटा बोरामा प्याकिङ गरी कोशी टप्पु वन्यजन्तु आरक्षको संरक्षित क्षेत्र भित्र वालुवामा खाल्डो खनी लुकाएको अवस्थामा ससस्त्र प्रहरीले  बरामद गरेको थियो ।


धनकुटा र उदयपुर क्षेत्रबाट संकलित गाँजा रातभरी सप्तकोशी नदीमा नाउ खियाउदै कोशी टप्पु वन्य जन्तु आरक्षको संरक्षित क्षेत्रसम्म ल्याएर लुकाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।


यसअघि समेत तस्करहरुले सप्तकोशी नदीको प्रयोग गरी भाण्टावारी नाकाबाट भारत तर्फ गाँजा तस्करी गर्ने गरेको फेला परेको थियो ।
भाण्टावारीबाटै एक महिनाअघि एम्बुलेन्समा भारत तर्फ लैजाँदै गरेको अवस्थामा ठुलो परिमाणमा गाँजा बरामद भएको थियो ।

तपाईको प्रतिक्रिया