२८ चैत्र, इलाम। नेकपा एमालेका महासचिव इश्वर पोख्रेलले संविधान संशोधन गर्न एमालेले कुनै पनि सहमति नदिएको बताउनु भएको छ । एमाले सँग परिमार्जन सहित संविधान संशोधनको दर्ता गर्ने विषयमा परामर्श र छलफल नभएको भन्दै महासचिव पोख्रेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जालझेल पूर्ण पोलिटिकल माकेटिङ्ग गरेको आरोप लगाउनु भएको छ ।

आज विहान प्रेस चौतारी इलामले इलाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोख्रेलले संविधान संशोधनको विषयलाई लिएर सत्ता पक्ष स्थानीय तहको निर्वाचन सके टार्ने केही नभए सार्नै खेला गर्दै गरेको बताउनु भएको छ । पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उपनेता सुबास चन्द्र नेम्वाङले मधेसी दलहरुलाई सहमतिमा ल्याएर निर्वाचन गरौं भन्ने कुरामा एमाले सधैं सकारात्म रहेको बताउनु भयो ।

नेता नेम्वाङले कम्तिमा मधेशी मोर्चाको कुरा के हो त्यो ल्याउनुस भन्दा पनि प्रधानमन्त्री प्रचण्डले अहिले सम्म त्यो मुख्य कुरा स्पष्ट रुपमा नलाएको बताउनु भयो । नेता नेम्वाङले प्रचण्डले स्थानीय तहको संख्या बढाउने कुरा ठीक नभएको बताउनु भयो । उहाँले निर्वाचनको मिति तय भइसक्दा स्थानीय तहको संख्या बढाउँ भन्ने कुरा निर्वाचनको अघिल्लो दिन मतदाता संख्या थपौं भने जस्तै भएको स्पष्ट पार्नूभयो ।

नेता नेम्वाङले जनताको अधिकार कटौती गर्ने पक्षमा नभएको भन्दै स्थानीय तहका प्रतिनिधिले माथिल्लो तहका हाउसमा भोट हाल्न नपाउने सत्ता पक्षको कुरामा आफूहरु सहमत नहुने बताउनु भयो । एमालले स्थानीय तहका प्रतिनिधिले माथिल्ला निर्वाचनहरुमा मत जाहेर गर्न पाउनु पर्छ भनेरै अगाडि बढेको स्पष्ट पार्नू भयो ।

तपाईको प्रतिक्रिया