इनरुवा बैशाख ५ /सुनसरीको इनरुवाबाट गाईको मासु ढुवानीमा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । बोरामा लुकाएर नरसिंहबाट इटहरी तर्फ जाँदै गरेको को १ ज २४२५ नम्वरको म्याजिक प्रहरीले सखुवागाछीबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीले मासु धनी नरसिंह १ का अख्तर मन्सुरीलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ ।

छाला काटेर बोरामा हालिएको मासु गाईको जस्तो देखिएपनि पुष्टिकालागि प्रयोगशाला पठाउने तयारी भैरहेको सुनसरी प्रहरीले जनाएको छ ।
भाडामा प्रयोग गरिएको म्याजिक चालक ज्ञानबहादुर मगरलाई भने सोधपुछ कालागि नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । सुनसरीका विभिन्न स्थानबाट गाईको मासु रातारात अन्यत्र लैजाने गरेको सुराकी पाएसँगै प्रहरीले त्यसतर्फ निगरानी बढाउँदै आएको थियो । राष्ट्रिय जनावर गाई काटमार गर्न कानुनले वर्जित गरेको छ । मुलुकी ऐनको १२ औं संसोधन २०७२ को चौपाया महलको ११ नम्बरमा जानीजानी गाई गोरु मार्नेलाई १२ वर्ष र बचन दिनेलाई ६ वर्ष कैद सजाय हुने भनि तोकिएको छ ।

तपाईको प्रतिक्रिया