७ वैशाख, इलाम। अखतियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयका प्रमुख प्रेमप्रसाद भट्टराईले जिल्लास्थित सेवाप्रदायक निकायहरुमा काम भएपनि पादर्शिता नहुँदा भ्रष्टाचार देखिने गरेको बताउनु भएको छ । उहाँले भ्रष्टाचारलाई न्युनिकरण गर्न कार्यालय प्रमुख र सरकारी निकायका प्रतिनिधिको दायित्व रहेको बताउँदै अखतियारको एक्लो प्रयासले मात्र भ्रष्टाचार कम नहुने बताउनु भयो ।

बुधबार इलाममा आयोजित भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रममा प्रमुख भट्टराईले आयोगमा इलामबाट पनि शिक्षा, वन, भूमि सम्बन्धी भ्रष्टाचारका उजुरीहरु परेको जानकारी दिनुभयो । भट्टराईका अनुसार इलामबाट गत आर्थिक वर्षमा ६९ वटा उजुरी परेका थिए । जसमा ५३ वटा फछ्र्यौट भएको र १६ वटा मुद्धा बाँकी रहेका छन् । अहिले पनि इलाममा शिक्षा सम्बन्धी ६ वटा, भूमि सम्बन्धी ३ वटा र वन सम्बन्धी २ वटा उजुरी परेको र अनुसन्धानको काम भइरहेको भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रममा इलामका स्थानीय विकास अधिकारी ध्रुवबहादुर खड्काले भ्रष्टाचारमा कस्को सम्लग्नता छ भन्ने कुरा छान्नु पर्ने अवस्था आएको बताउनु भयो । स्थानीय निकायबाट सञ्चालन हुने योजनाहरुमा बढी भ्रष्टाचार हुने बताउँदै खड्काले उपभोक्ता समितिले पनि पार्दशि ढंगले काम नगर्ने, ठेक्केदारहरुले ढाँट्ने र बेला काम नगरि बीलहरु फछर्योट नगर्ने हुँदा त्यसको अपजस कर्मचारीले बेहोर्नु पर्ने बाध्यता रहेको बताउनु भयो । उहाँले कानूनले भने जतिमात्र काम गर्न कर्मचारीहरुलाई आग्रह गर्दै आफूलाई लाग्ने भ्रष्टाचारको आरोप प्रति सचेत बन्न आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला स्थित सरकारी कर्मचारी, गैरसरकारी संस्थाका प्रुमख तथा प्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया