८ वैशाख, भोजपुर। भोजपुर जिल्लाको मध्यपहाडी राजमार्ग लगायत ग्रामीण सडकहरू बेमौसमी वर्षातले  प्रभावित भएका छन् । हालको बेमौसमी ठूलो वर्षाका कारण भोजपुर जिल्लासँग तराई र गाउँसम्म जोडिएका सडक प्रभावित भएका हुन् । गएरातिको वर्षाका कारण भोजपुर–लेगुवा सडक खण्ड तथा भोजपुर–चखेवा हुँदै खोटाङ जाने यातायातका साधन चल्न नसकेको संयुक्त बस व्यवसायी सङ्घ, भोजपुरले जनाएको छ ।

जिल्लाको एकमात्र हवाईमार्गको समेत स्तरोन्नति भइरहेकाले बेमौसमी वर्षाले सडक अवरुद्ध भएपछि जिल्लाका सर्वसाधारण मारमा परेका छन् । भोजपुर–घोडेटार र भोजपुर–दिङ्ला सडकखण्ड समेत वर्षाले प्रभावित बन्दै आएको छ। कच्ची सडक वर्षाले हिलाम्य भएपछि यातायात सञ्चालन गर्न गाह्रो भएको बस चालकले बताएका छन् ।

तपाईको प्रतिक्रिया