१० बैशाख, दिलिप साह राजविराज । सप्तरी युथ नेपालको आयोजनामा संचालित ५० हप्ते सरसफाइ अभियान अन्र्तगतको ३३ औं हप्ताको सरसफाइ रुपनी बसस्टेण्ड देखि राजरंगशालाको मुख्य द्धार सम्म गरि सम्पन्न गरिएको छ ।

घोषित कार्यक्रम अनुसार ३३ औं हप्ताको सरसफाइ गत साता गमहरिया प्रवाह गा.बि.स.का दृष्टिबिहिनका लागि घर निर्माणका लागि समुदघाटनमै गर्ने भनिएता पनी सो हप्ताको हावाहुरी तथा भारी बर्षाका कारण हुन नसकेकोले ३३ औं हप्ताको सरसफाइ यसै शनिवार गरिएको र यसैलाई निरन्तरता दिने जानकारी सप्तरी युथका मोहन यादवले जानकारी गराउनु भएको थियो । ३३ औं हप्ताको सरसफाइ अन्र्तगत युवाहरुद्धारा रुपनी बसस्टेण्ड देखिको सरसफाइ गर्दा बन्द नाला खोलाउनुको साथै झारपातको समेत सरसफाइ गरिएको थियो । युवाहरुद्धारा सो क्षेत्रमा गरिने खुल्ला पिसावलाई समेत निरुत्साहीत गर्ने तथा सफा नगर बनाउने उद्धेश्यका साथ बृक्षारोपण सहित छेकवार लगाउने कार्यको शुरुवात गरिएको जानकारी सप्तरी युथका बिष्णु यादवले जानकारी गराउनु भएको थियो ।

शनिवार गरिएको उक्त सरसफाइमा नालामा गरिएको सरसफाइमा ९९ प्रतिशत प्लाष्टिक जन्य बस्तु मात्र रहेको थियो भन्ने सम्पुर्ण नाला स्ल्याव बिना जाम भएकोले राजबिराज नगरलाई प्लाष्टिक मुक्त क्षेत्र तथा सो क्षेत्रमा नाला माथी स्ल्याव लगाउनु पर्ने आवश्यक्ता रहेकोले सो को लागि पहल गर्न स्थानीयहरुले युवाहरुलाई जानकारी गराएका थिए । सरसफाइकै क्रममा युवाहरुद्धारा खुल्ला रुपमा रहने म्याजिक स्टेनलाई व्यवस्थीत गर्न ब्यवसायी संग समेत छलफल गरि सो क्षेत्रमा बढीमा ४ वटा म्याजिक मात्र लगाउने निर्णय भएको थियो भने अन्य म्याजिक धनीले आफै व्यवस्थीत रुपमा कतै राख्ने र बाटो जाम नगर्ने सहमति भएको थियो ।

३३ औं हप्ताको सरसफाइमा सिरहाका सरसफाइ दुत धिरेन्द्र कुमार सहितको टोलीको उपस्थिती तथा राष्ट्रिय जनता पार्टी सप्तरीका नेता दिपेन्द्र चौधरी तथा स्थानीयहरुले समेत सहभागिता जनाएका थिए भने राजबिराज नगरपालिकाको ट्रयाक्टरले फोहोर उठाउनमा सहयोग गरेको थियो ।

तपाईको प्रतिक्रिया