१३ बैशाख, सुमन भट्टराई। हङकङमा नेपाली संघ संस्थाका गतिबिधि बढेसंगै नेपालीहरुले व्यक्तित्व तथा नेतृत्व कुशलता बढाउने कुरामा सक्रियता देखाउन थालेका छन् ।

नेपालका विभिन्न क्षेत्रबाट काम तथा व्यापारका सिलसिलामा हङकङ पुगेका नेपालीहरूले आआफ्ना क्षेत्र र जातिय पहिचानका लागि संघसंस्था स्थापना गर्न थाले सँगै नेतृत्व तथा व्यक्तित्व कुशलता बढाउन उद्घोषण कलाको सिप बढाउने तालिमहरूमा सक्रियता बढाउन थालेका छन् । हङकङ नेपाल हिन्दू एसोसिएसन (हिन्दू मन्दिर )हङकङको समन्वयमा नेपाली महिला संघ, हङकङले दुई साता अघि आयोजना गरेको पहिलो “ एक दिने नेतृत्व तथा व्यक्तित्व बिकासका लागि भाषण तथा उद्घोषण कार्यशाला“ प्रशिक्षण का लागि नेपालबाट हङकङ पुगेका नेपालका लोकप्रिय प्रशिक्षक शिरोमणि दवाडीको प्रभावकारी प्रशिक्षणबाट आकर्षित भएपछी यतिवेला हङकङका विभिन्न स्थानमा नेपाली संघसंस्थाले भाषण तथा उद्घोषण तालिमहरु आयोजना गर्न थालेका छन्।

यसै साता हेवेन्ली पाथ हङकङले दोस्रो चरणको एक दिने नि: शुल्क कार्यशाला सम्पन्न गरेको छ । सो कार्यशालामा पनि सहभागीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यशाला पछि इच्छुकहरूलाई समेटेर नेपाली महिला संघको आयोजना तथा हिन्दू मन्दिरको समन्वयमा ३ चरणका तालिमहरू पुरा भै सकेको छ। सिक्न चाहने इच्छुकहरूको संख्या बढेकाले आगामी साता थप ३ चरणका तालिम कार्यक्रम संचालन गर्ने तयारी रहेको आयोजक नेपाली महिला संघकी अध्यक्ष्य टिका गुरुङ्गले जानकारी दिईन्।

“हङकङको ब्यस्त जीवनशैलीमा पनि सहभागीले देखाएको उत्साहा उल्लेख्य छ“ गुरुङले भनिन्  “अनुभवी प्रशिक्षक भएकाले सहभागीमा छोटै अवधिको तालिमबाट उल्लेख्य प्रगति भएकोले धेरैले तालिम प्रति रुचि देखिएको छ।”

४-५ दिनकै तालिमबाट प्रभावकारी ढंगले भाषण तथा उद्घोषण गर्न जानेकोमा सहभागीहरु पनि खुसि भएका छन । सहभागी मध्येका हङकङ नेपाली ब्यापार संघका अध्यक्ष्य ब्यबसायी प्रकाश पुनले तालिमले आफूमा भएको कला प्रष्फुटन गराइदिएकोमा खुशी ब्यक्त गरे । अधिकांश सहभागी हङकङमा विभिन्न संघसंस्थाका प्रतिनिधि र ब्यबसायी रहेको पनि उनले जानकारी दिए ।

यस्तो तालिम अभियानले विभिन्न संघसंस्थाका भावी कार्यक्रमका लागि कुसल बक्ता तथा उद्घोषकको पुर्ती गर्ने र कुशल नेतृत्वकर्ता तयार पार्ने बिश्वाश आयोजकले लिएको छ । बिगत २० बर्ष देखी संचार,अभिनयकला,नेतृत्व तथा व्यक्तित्व बिकास,भाषण तथा उद्घोषण कला आदि विधामा कुशल प्रशिक्षण दिंदै आएका शिरोमणि दवाडी रेडियो तथा टेलिभिजनका अनुभवी कार्यक्रम प्रस्तोता तथा कुसल हाँस्य अभिनेता पनि हुन् ।

तपाईको प्रतिक्रिया